bambo

बर्दिवास, १८ कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रका डोम जातिको बसोबास रहेका बस्तीमा अहिले बाँसको चोयाका समान बनाउने चटारो बढेको छ ।  मिथिला क्षेत्रमा निष्ठासाथ मनाइने छठ पर्व नजिकिएसँगै सो बस्तीमा बाँसको चोयाले बनिने सामानको चटारो बढेको हो । मिथिला संस्कृतिको महत्वपूर्ण अङ्ग नै बनेको छठ पर्वमा पूजाआराधना प्रयोजनका लागि बाँसको चोया काढेर बनाइएका नयाँ छिटी, ढकी, कनसुत्ता, कोनिंयाँ र नाङ्लोको प्रयोग अनिवार्य हुन्छ । पर्व नजिकिएसँगै यी सामानको माग बढेपछि आपूmहरुको व्यस्तता पनि बढेको भङ्गाहा–८ सीतापुरबजार नजिकैको सो बस्तीका बिन्दु मरिक डोेमले बताउनुभयो ।

‘‘वर्षभरिका अरू बेला खाई जीविकाका लागि सुँगुर चराएर डुल्ने आपूmहरुको छठ नजिकिएपछि महत्व बढ्छ’’– बिन्दुले विभिन्न डिजाइनका चोयाका सामान बनाइदिन अनुरोध गर्दै आफ्नै घरमा आएका मान्छेको भीड देखाउँदै खुसीसाथ भन्नुभयो– ‘‘सबैको आआफ्नो बेला हुँदो रे’छ, हाम्रो मुख्य बेला चैँ छठ नै हो ।’’

मिथिलामा चौरचनसहितका अन्य पर्वमा पनि चोयाका सामान चाहिने भए पनि छठ जातिको माग अरू बेला नहुने जिल्लाका पाका उमेरका डोम बताउँछन् । छठ पर्व श्रद्घा र नियम निष्ठासाथ मनाइने भएकाले यस पर्वका लागि आपूmहरुले पनि यथासक्य पवित्र भएर किनेर ल्याइएको नयाँ बाँसको चोयाबाटै सामान बनाउने गरेको ७० वर्षीय पवित्तर मरिक बताउनुहुन्छ ।

सामान्यतया डोमले स्मसानघाटमा फालिएका शव बोकिएका बाँस ल्याएर चोया बनाएर सामान तयार गर्ने बाक्लै चलन भए पनि छठका लागि भने नयाँ बाँस किनेरै चोया बनाइने गरिएको उनीहरु बताउँछन् । छठका लागि चोयाका सामान खोज्नेले श्रद्घा र समर्पणका कारण खासै मोलजोल नगर्ने भएकाले आपूहरुले पनि बाँसको लागत र आफ्नो मिहिनेत मात्र जोडेर केही मात्र नाफा लिएर सामान बेच्ने गरेको जलेश्वर–२ की रीता मरिक डोमले बताउनुभयो ।

मिथिलामा छठ पर्वको व्यापकताले जनजीविका र पेसा व्यवसायसँग गहिरो नाता गाँसेको यहाँका रीतिथिति बुझेका पाकाको भनाइ छ । छठकै अवसरमा बाँसको चोयाका सामान, माटाका भाँडा र खासखास कृषि उपजको अनिवार्यता मानिएकाले यसको उत्पादनसँग जोडिएकाले राम्रो व्यवसाय गर्ने गरेका मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठका अर्थशास्त्र विषयका उपप्राध्यापक हेमनारायणलाल कर्णले बताउनुभयो ।

डोम जातिले त छठ पर्वकै आर्जनले वर्षभरिको नगद खर्चको जोहो हुने गरेको उनीहरुले बताएका छन् । छठमा मात्रै बाँस उत्पादक किसान, बाँस किन्ने डोम समुदाय र चोयाका सामान किन्ने उपभोक्तासमेतको कारोबार हेर्दा महोत्तरीमा मात्रै बर्सेनि रु २० लाखभन्दा बढीको हुने गरेको महोत्तरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजयकुमार साहले बताउनुभयो ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया