२६ भदौ, दिलिप साह सप्तरी । सरकारले डेढ वर्ष अघि महाभूकम्प गएपछि भूकम्परहित राष्ट्रिय भवन सहिंता मापदण्ड अनुसार नयाँ भवन निर्माणमा कडाई गरिएको छ ।

नगरमा निर्माण अचार संहिता र राष्ट्रिय भवन संहिता मापदण्ड अनुसारको भवन निर्माण गराउने मुख्य जिम्मेवार निकाय नगरपालिका नै हो । नगरपालिका कार्यालयले नगरभित्र नीजि नयाँ भवन निर्माण पूर्व राष्ट्रिय भवन संहिता मापदण्ड भित्र रहेर निर्माण कार्य गर्ने भनेर अनुमति दिइन्छ । तर, राजविराज नगरपालिका कार्यालयले आफ्नै परिसर भित्र भवन संहिता मापदण्ड विपरित नगर कम्पलेक्स भवन निर्माण गरिरहेका छन ।

भवन निर्माण अघि माटो, वालुवा, छड, सिमेन्ट परिक्षण गर्नुपर्नेमा सो नगरी राजविराज नगरपालिकाले उक्त भवन निर्माण कार्य गरिरहेका छन । पिलरमा गारो (फाउण्डेसन), पिलरको साइज, पिलरको हात्तीपाइले, छडको साइज संख्या समेतको प्राविधिक प्रयोगशालाबाट परिक्षण नगराई निर्माण भइरहेको राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ स्वयंले स्वीकार्नु भएको छ ।

राजविराज नगरपालिकामा दक्ष प्राविधिक जनशक्ति नरहेको अवस्थामा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयसँग समन्वय गरी नियुक्त गर्नुपर्नेमा सो समेत नगरिएको उहाँले जानकारी दिनुभयो ।निर्माणाधिन नगर कम्पलेक्स भूकम्प प्रतिरोधात्मक क्षमताको निर्माण भइरहेको दाबी गर्दै कार्यकारी अधिकृत गुरुङले भवन निर्माणको नक्सा अनुमति प्राप्त भइसकेको बताएपनि कति तल्लासम्म बनाउने भन्ने बारेमा स्पष्ट बताउन सक्नु भएन ।

यसलेपनि भवन हचुवाको तालमा गुणस्तरहिन, भवन संहिता मापदण्ड विपरित निर्माण भइरहेको पुष्टि गरेको छ । टीडिएफको ९० प्रतिशत तथा राजविराज नगरपालिकाको १० प्रतिशतको लगानीमा १० कोठे भूँइ तल्ला निर्माण भइरहेको उक्त भवन छत ढलानको अन्तिम अवस्थामा पुगेको छ । २०७२ भदौ÷असोज तिर प्रारम्भ गरिएको निर्माण कार्यमा कूल रु.३६ लाख खर्च हुने बताउँदै उहाँले भन्नुभयो, अहिले भूँइ तल्ला बनाउने, पछि बजेट र आवश्यक्ता अनुसार तल्ला थप्दै जाने । भवनको तल्ला अनुसार माटो, जग, छड, सिमेन्ट, वालुवा, इँटको पूर्व परिक्षण गरी प्रयोग गरिन्छ, तर, यहाँ कति तल्लासम्म बनाउने भन्ने अस्पष्ट रहेको छ ।

निर्माणाधिनको साईट रेखदेखका लागि नगरपालिकाकै इन्जिनियर हरिनारायणराम रौनियार र ओभरसियर राजु देवलाई जिम्मेबारी दिएको छ । तिनीहरु जस्तोसुकै भवन निर्मााण गराउने मनसायमा रहेको देखिन्छ ।यता सरकारी भवन निर्माण गराउँदा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयसँग समन्वय तथा रेखदेखमा गराउनुपर्ने बताउँदै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख मिलन आचार्यले भन्नुभयो, जहाँ जहाँ दक्ष प्राविधिक छैन, माग भएमा पठाउने गरेका छौ । राजविराज नगरपालिका स्वायत्त संस्था हो, त्यहाँ दक्ष प्राविधिक छ छैन थाहा भएन ।र, माग पनि गरेको छैन ।

निर्माण अचार संहिता २०७० को ७ को १ मा प्रत्येक साईटमा प्रविधिक रेखदेख एवं सुपरभिजन गर्नको लागि दक्ष प्राविधिकहरुको व्यवस्था गर्ने भनिएको छ । भने ७.१७ मा परामर्शदातालाई भवन संहिताको पालना सम्बन्धी चेकलिष्ट विवरण अनिवार्य रुपमा भर्न लगाउने, र ७.१८ मा निर्माण व्यवसायीबाट अनिवार्य रुपमा क्लालिटी एस्युरेन्स प्लान पेश गर्न लगाउने र सोको कार्यान्वयनको अनुगमन गर्ने उल्लेख छ । तर, नगर कम्पलेक्स निर्माण कार्यमा यस्तो नगरेको एक जना प्राविधिकले नाम नछाप्ने शर्तमा बताउनुभयो ।

तपाईको प्रतिक्रिया