इनरुवा भाद्र २७/सुनसरीको धार्मिक तथा पर्यटकिय स्थल रामधुनीको संरक्षण र बिकासमा लायन्स क्लब अफ इन्टरनेशनलले चासो देखाएको छ ।विकासमा पछि परेको धार्मिक स्थलको संरक्षणलाई मध्यनजर गर्दै गुरु योजनाका साथ अघि बढ्ने तयारी थालिएको छ ।स्थानीयहरुले लायन्स क्लब अफ रामधुनी भाषी गठन गरी बृहत्तर रामधुनी गुरु योजना निर्माणका लागि रणनीतिक योजना बनाउन सुरु गरेका छन् ।

क्लबका अध्यक्ष डिल्ली कार्कीले क्लबको माथिल्लो निकायले समेत रामधुनीको बिकास निर्माणमा सहयोग गर्ने आश्वासन दिएकाले ओझेल परेको धार्मिक स्थलको मुहान फेरिने सम्भावना बढेको बताउनु भयो ।स्थानीय राजनैतिक दलका प्रतीनिधी, सरोकारवालाका साथै सामुदायिक वनका पदाधिकारी र सर्वसाधाणको भेलाबाट प्राप्त सल्लाह र सुझावका आधार गुरु रणनीतिक योजना तयार पारी गुरु योजनाको पहल थालिने बताइएको छ ।

कार्यक्रममा विज्ञ डाक्टर सोम खतिवडा र मुर्तिकार विक्रम श्रीले सहजिकरण गरेका थिए । मुर्तिकार श्रीले रामधुनी क्षेत्रमा आवश्यक्ता अनुसारका कलात्मक मुर्ति निर्माणमा सहयोग पुरयाउने प्रतिवद्धता समेत जनाएका छन् । लायन्स क्लबले रामधुनीका विषय प्रशंग समाहित सचित्र पुस्तक प्रकाशनको तयारी समेत अघि बढाइसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया