6

२८ भदौ, दिलिप साह सप्तरी। सप्तरी जिल्लाको विभिन्न गाउँ विकास समितिहरुमा रहेका हरुवा–चरुवाहरुले काम गरेवापतको मजदुरी नपाएको तथा एक धुर पनि जग्गा नहुँदा जीवन जीविका चलाउन समस्या भईरहेको गुनासो गरेका छन् ।

तपेश्वरी समाज कल्याण संघ र मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन (हुर्क) नेपालद्वारा सोमवार राजविराजमा आयोजित हरुवा–चरुवा न्युनिकरण तथा सशक्तिकरण कार्यक्रम अन्तर्गत हरुवाचरुवाहरुका हक अधिकार सम्वन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । गिरहतको खेतमा हरवाही गर्दा आफूसहित परिवारका सदस्यहरुसमेत काम गर्नुपर्ने बाध्यता रहेको हरुवाचरुवा अधिकार मञ्च सप्तरीका अध्यक्ष दर्शन मण्डलले बताए ।

दिनभरी खेतमा हलो जोतेवापत तथा धान रोपाईआदि गरे वापत पारिश्रमिकमा मात्र पाँच किलो धान दिने गरिएको बताउँदै उनले भने ‘पुस्तेनी हाम्रा बाबुबाजे हरुवाचरुवा भएर बस्यो, अब पनि हामी हरुवाचरुवा भएर बस्नुभन्दा स्वतन्त्र जीवनयापन गर्न चाहन्छौं ।’ राज्यले आफूहरुको जीवनजीविका निर्वाह गर्न जग्गा, रोजगारकालागि आयआर्जनमूलक कार्यक्रम तथा छोराछोरीको उचित शिक्षादीक्षाको व्यवस्था मिलाउनु राज्यपक्ष गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।

सरोदेवी सदाले अहिले पनि समुदायमा हरुवाचरुवा परिवारमाथि जमिन्दारहरुले हैकमवादी शैली कायम राखेको तथा गाउँमा बाटोघाटो लगायतको समस्या रहेको बताईन् । फतमा खातुनले रोजगारीको अभाव रहेको तथा कुनै रोजगार गर्न खोज्दा साहु महाजनकहाँ जाँदा जग्गा जमिन केही नभएका कारण दिन नमानेको दुःखेसो सुनाउँदै व्यवसाय सञ्चालन गर्न सरकारले आफुहरुलाई सहयोग गर्न आग्रह गरिन् ।

कार्यक्रममा आएका गुनासा एवम् सवालहरुको जवाफ दिँदै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले नियम कानूनको परिधिमा रहेर सर्वसाधारण जनतालाई जस्तोसुकै परिस्थितिमा पनि सेवा दिन तयार रहेको बताए । कार्यक्रममा आएका जिज्ञासाहरुको पहिचान गरी सम्वन्धित कार्यालयसँग समन्वय गरेर समाधानकालागि अग्रसर हुनुपर्ने सुझाव दिँदै उनले भने ‘अन्याय अत्याचार वा कुनै समस्या भए ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा सिधै सम्पर्क राख्न आग्रह छ, जनताका गुनासा सुन्न ढिला सुस्ती भए सिधै मलाई फोन गर्नुस् ।’

आयोजक संस्थाको सञ्चालक समितिका संयोजक पार्थो सरकारको अध्यक्षतामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नापी अधिकृत गणपति साह, नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष धीरेन्द्र प्रसाद साह, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष एवम् मधेशी मोर्चा सप्तरीका पूर्व अध्यक्ष कपिलदेव यादव, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, जनचेतना दलित सङ्गमका कार्यकारी निर्देशक गणेश कुमार राम, नेपाल कांग्रेसका सुभाषचन्द्र सिंहले मन्तव्य व्यक्त गरे । यसैगरी हरुवाचरुवा अधिकार मञ्च सप्तरीका सचिव लागेन्द्र सदा, हरुवाचरुवा मञ्चका डिक वहादुर बिक, गीता देवी रजक, पार्वती सदा, सकलदेव सदा, सरोजदेवी सदा, रिता देवी रजक, रामानन्द रजक, बालेश्वर राम, भुटनी देवी, सुनिता देवी सदा, माङ्ग कुमारी खङ्ग, रिता बिक, अडहुलिया देवी मण्डल, रानी कुमारी चौधरीलगायतले हरुवाचरुवाको समस्या विस्तृतमा राखे ।

कार्यक्रममा हरुवा–चरुवा न्युनिकरण तथा सशक्तिकरण कार्यक्रमका संयोजक प्रदीपकुमार जोशीले उद्देश्यबारे प्रष्ट पारे भने कार्यक्रम सहजिकरण पत्रकार श्यामसुन्दर यादवले गरे ।

तपाईको प्रतिक्रिया