sikrima jiwan inaruwa sahyog1

अमर काफ्ले/८ वर्ष देखि सिक्रीमा बाँधिएका औरावनीका अमित साहकालागि महिला तथा बालबालिका कार्यालय सुनसरीले पहल थाल्ने भएको छ । इनरुवा अनलाइनबाट अमितको विषयमा समाचार पहिलो पल्ट प्रकाशन प्रशारण पश्चात ध्यानाकर्षण भएको भन्दै महिला तथा बालबालिका कार्यालय सुनसरी प्रमुख रश्मि श्रेष्ठले आवश्यकीय पहल गर्न तयार रहेको बताउनु भएको छ । उपचार खर्च अभावमा सिक्रीमा बाँधिएका अमित मानसिक सन्तुलन गुमाउन पुगेका व्यक्ति हुन् ।

आर्थिक अवस्था कमजोर रहेको उनको परिवारले छोरोको उपचार खर्च जुटाउन नसकेपछि सिक्रीमा बाँधेर राख्दै आएका थिए । दुई छाक टार्न धौधौ पर्ने अमितका बाबु भगवान र आमा तितरी साह छोरोलाई भोक लागे पानीमा चोबेर विस्कुट खान दिनु बाहेकको अन्य विकल्प नभएको बताउँछन् ।

महिला तथा बालबालिका कार्यालयले अमितलाई क वर्गको परिचय पत्र बनाउने पहल अघि बढाएको छ । अपाङ्ग तथा जेष्ठ नागरिक परिचय पत्र वितरण गर्दै आएको कार्यालयले अमितलाई मानसिक विक्षिप्त अवस्थाका व्यक्तिको परिचय पत्र दिन लागेको हो ।

कार्यालय प्रमुख रश्मि श्रेष्ठले आवश्यक प्रकृया पुरा गरेपश्चात अमितको परिवारले पाउने मासिक तीन हजारले थोरै भएपनि राहत मिल्ने बताउनु भयो ।अमितले अब रातो कार्ड पाउने छन् । क वर्गका व्यक्तिले पाउने मासिक रकम ५ हजार पुग्ने सम्भावना प्रवल देखिएकाले उक्त रकम अमितको परिवारलाई राहत हुने कार्यलय प्रमुख रश्मि श्रेष्ठको विश्वास छ ।

तपाईको प्रतिक्रिया