दिलिप कुमार साह
राजविराज, असोज १ गते । सप्तरी जिल्लाको पाँच गाविसमा आवाज परियोजना सञ्चालन भएपछि दैनिक जीवनमा परिवर्तन आएको बताएको छ । ती गाविसका मानव अधिकार तथा सामाजिक न्यायको अभिबृद्धि भई दलित तथा वहिष्करणमा पारिएका समूहहरुको जीवनमा परिवर्तन आएको हो ।
परियोजनाका सप्तरी जिल्ला संयोजक रामेश्वर जैरुले राजविराजस्थित परियोजनाको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सो कुरा बताएका हुन् । जिल्लाको लौनियाँ, कोचाबखारी, छिन्नमस्ता, सिम्राहासिंगियोन र मलेकपुर गाउँ विकास समितिको हरेक वडामा ३ जना मानव अधिकार अभियन्ता छनौट गरी २७ जनाको नेटवर्क बनाईएको उहाँले जानकारी दिनुभयो ।
मानव अधिकार, मानव अधिकारको महत्व र स्थानीयस्तरमा रहेको जातीय भेदभाव, महिला हिंसा न्युनिकरणलगायत मानव अधिकार हनन्का घटनाहरु न्युनिकरण गर्न जनचेतनामूलक तालिम, अन्तक्र्रिया, सम्वाद र मानव अधिकार शिक्षा अभियानहरु सञ्चालन गरिएको संयोजक जैरुले जानकारी दिनुभयो । जातीय भेदभाव अन्त्यकालागि गरिएका सामुदायिक सम्वादहरुमा कार्यक्षेत्रका स्थानीय नेतृत्व तथा अगुवाहरुले आफ्नो गाविसलाई २०७३÷०७४ भित्र विभिन्न कार्यहरु गर्दै जातीय भेदभावमुक्त गाविस घोषणा गर्ने लिखित प्रतिवद्धता प्राप्त भएको बताएको छ ।
मलेकपुर गाविसमा दलित बालबालिकाको पोषणभत्ता ८ महिनादेखि रोकिएकोमा सञ्जालको दवावमा रकम वितरण गरिएको, कोचाबखारीको ग्रामदेवता स्थलमा दलितलाई मन्दिरमा पूजाआजा गर्ने वातावरण मिलाउन सफल भएको जानकारी दिदै उहाँले बोक्सीलगायतका विषयहरुमा परियोजनाले काम गरेको बताउनुभयो । हालसम्म रु. पाँच लाख ९५ हजार ७सात सय ७६ परियोजना अन्तर्गत विभिन्न गतिविधिमा खर्च भएको छ । जसमा ३ हजार ३ सय ४० जना प्रत्यक्ष रुपमा लाभान्वित भएको बताएको छ ।

तपाईको प्रतिक्रिया