असोज ४ इनरुवा /सत्यसेवा सुरक्षणम भन्ने नाराका साथ जनताको शान्ति सुरक्षामा समर्पित रहने नेपाल प्रहरी मातहतकै केहि कर्मचारीको कर्तुतका कारण बेलाबखत बदनाम हुने गरेको छ ।सुनसरीमा यस्तै घटना भेटिएको छ । प्रहरीको वर्दीमा रहेका दुई हवल्दार जसमाथि स्थानीयवासीले रकम असुलीको आरोप लगाइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट स्थानीय तहमा सुरक्षाका साथै चोरी निकासी हुने सरसामान उपर निगरानीका लागि खटिएका प्रहरी हवल्दारहरु शशिकुमार मण्डल र देवराम यादवमाथि स्थानीय सर्वसाधारणले रकम असुलीको आरोप लगाएका छन् ।मण्डल र यादवले सवारी चेकजाँचका नाममा लाइसेन्स र विलबुक नभएको पाइए सम्वन्धित सवारी चालकबाट डर त्रास देखाई मनोमानी तवरले रकम असुल्ने गरेको गुनासो पीडितहरुको रहेको छ ।

बबिया, सामबोला लगायतका क्षेत्रमा ड्युटीमा रहँदा प्रहरी हवल्दार मण्डल र यादवले भारतीय बजार हुँदै सदरमुकाम इनरुवा छिर्ने व्यापारीहरुबाट समेत रकम मोलमोलाई गर्ने गरेको आरोप लागेको छ । स्थानीय व्यापारीहरुले चेकजाँचमा प्रहरीको फेला परे केही रकम नबुझाई उम्कनै नसक्ने बताए । हवल्दार टोलीले कुनैपनि जरिवाना रसिद विनानै रकम माग गरी लिने गरेको स्थानीय प्रत्यक्षदर्शीका साथै व्यापारीहरुले बताउदै आएका छन् ।स्थानीयवासी सो क्षेत्रमा खटिने जोकोही प्रहरीले असुली गर्दै आएको दावी गर्छन् ।

उता सर्वसाधारणबाट रकम असुलीको आरोप लागेका हवल्दार मण्डल र यादवले आफुहरुमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् । उनिहरुले आफुहरु जनताको शान्ति सुरक्षाका लागि खटिएको बताउँदै आफुहरुले कोही कसैबाट कुनैपनि प्रयोजनमा रकम नलिएको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया