०७ असोज, दिलिप साह सप्तरी । छाडा पशु चौपायाको कारणले सवारी दुर्घटना भएमा त्यसको क्षतिपूर्ती सम्बन्धित चौपाया धनीले ब्यहोर्नु पर्ने सर्वदलीय सर्वपक्षीय भेलाले निर्णय गरेको छ ।

पूर्व–पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको बकधुवा गाविस स्थित महुली इलाका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक सर्वदलीय सर्वपक्षिय भेलाले यस्तो निर्णय गरेको हो । शान्ति सुरक्षा लगायत समसामयिक विषयमा आयोजित अन्तक्र्रियात्मक कार्यक्रममा यस्तो निर्णय गरिएको इलाका प्रहरी कार्यालय महुलीका ईञ्चार्ज प्रहरी नायव निरीक्षक रमेश वनले जानकारी दिनुभयो ।

अवैध मादक पदार्थको उत्पादन एवं सेवन, चोरी डकैती तथा झै–झगडा, विद्युत चोरी, काठ तस्करी सहित अपराध नियन्त्रणकोलागि प्रहरीले २४सै घण्टा विशेष सेवा प्रदान गर्नु पर्ने सहभागीहरुले जोड दिनु भएकोछ । कार्यक्रममा बक्धुवा, जण्डोल, प्रसवनी र लोहोजरा गाविसका निवर्तमान अध्यक्ष र उपाध्यक्ष, स्थानिय राजनैतिक दल तथा नागरिक समाज एवं विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, लगायत सर्वसाधारणको सहभागीता रहेको थियो । सोही कार्यक्रममा सहभागिहरुले चाडपर्वको समयमा सडकमा सवारीको चाप बढ्ने हुँदा महुलीमा ट्राफिक बिट राख्नु पर्ने माग गरेको छ ।

तपाईको प्रतिक्रिया