०८ असोज, दिलिप साह सप्तरी। सप्तरीमा छुट्टा छुट्टै घटनामा परी शनिबार दुई जनाको मृत्यु भएको छ । सप्तरीको सिम्राहासिग्यौन–८ मा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सोही ठाउँ बस्ने राम अधिन यादवको १४ वर्षका छोरा भोलानाथ यादवको उपचारका क्रममा मृत्यु भएको छ ।

आफ्नै घरमा दिउँसो ३ बजेतिर मोवाईल फोन चार्ज गर्न खोज्दा विधुत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा अपरान्ह ४ बजे अंचल अस्पताल राजविराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यसैगरी शम्भुनाथ–६ पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका पैदलयात्री शम्भुनाथ– ८ बस्ने ५० वर्षिय बिष्णुदेव पासवानको उपचारका क्रममा शनिबार अपरान्ह मृत्यु भएको छ । पासवानलाई शनिबार विहान ९ बजेतिर पूर्वबाट पश्चिमतर्फ जादै गरेको स. ३ प ३२२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेका पासवानलाई उपचारका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उहाको सोही प्रतिष्ठानमा अपरान्ह ३ बजे मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल प्रहरी कार्यालयमा राखिएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया