अमर काफ्ले असोज ९ सुनसरी । सप्तकोसी नदीमा डुंगा पल्टिएको एकसाता बितिसकेको छ । तरपनि वेपत्ताको अवस्था अझै पत्ता लाग्न सकेको छैन् ।सुनसरी प्रशासनले वेपत्ताहरु जीवितै भेटिने सम्भावना नरहेको भनि मृत घोषणाको तयारी समेत अघि बढाएको छ । प्रशासनले सप्तकोशी आसपास गर्दै आएको वेपत्ताको खोजी कार्य समेत बन्द गरिसकेको छ ।

६३ जना सवार डुंगा नदीमा पल्टँदा ३७ जनाको तत्कालै उद्धार गरियो । १७ जना पछिबाट सम्पर्कमा आए । डुंगा पल्टदा हराएका डुंगा चालक तुफानी चन्द्रबंशी सहित नौ जनाको अझै अवस्था पत्ता लाग्न सकेको छैन् । नत उनिहरुको शवनै फेला पर्न सकेको छ । हराएकाहरुको पत्तो नलाग्दा कोसी पारीको गाउँ प्रकासपुर ४ र ५ अर्थात श्रीलंका टप्पु शोकमा डुवेको छ ।

हराएकाहरुको लास र सास दुवै नभेटिदा बेपत्ता भएकाहरुका आफन्तले काज क्रिया समेत गर्न पाएका छैनन् । उनिहरु अझपनि हराएका आफन्त फर्किएर आउने आशमा छन् । जीवित नभेटिएपनि शव भएपनि भेटिएला भन्ने आशमा नदी किनार छेउछाउ खोजी गर्दै हिंडिरहेका छन् ।

स्थानीय अर्जुन चन्द्रबंशी हराएकाहरु फर्केर आउने आशमा अझै काजक्रिया नथालेको  बताउँछन् । केहि परिवारले आस मारेर काजक्रिया शुरु गर्ने तयारी गरेपनि गाँउलेले काजक्रिया गर्न दिएका छैनन् । लास नभटेकाले अहिले नै काजक्रिया थाल्नु राम्रो नहुने गाउँलेको सुझाब अनुरुप आफन्त गुमाएका परिवारले काजक्रिया गर्न सकेको छैनन् ।

सुनसरीको प्रकासपुर स्थित सप्तकोसीनदीमा अघिल्लो शनिबार डुंगा पल्टदा नौ जना बेपत्ता भएका थिए । डुंगा पल्टदा वेपत्ता भएकाहरुमा सुनसरीको प्रकासपुर श्रीलंका टप्पुका रेखा झा, पुजन झा , मिना झा रहेका छन् । यसैगरि डुङ्गा पल्टदा पार्वती चन्द्रबंशी, सकुन्तला चन्द्रबंशी ,तुफानी मण्डल चन्द्रबंशी, सीता कबिरथ, बननादेवी साहा, डोकू चन्द्रबंशीकी १२ बर्षीया छोरी र अन्दाजी १२ बर्षीया बालक अझै बेपत्ता छन् ।

श्रींलंका टप्पुबाट प्रकासपुर बजार तर्फ आउँदै गरेको डुंगा पानीको छालका कारण सप्तकोसी नदीमा पल्टिएको थियो । टप्पुमा २२ सय घरधुरीको बसोवास छ । ८ हजारको हाराहारीमा जनसंख्या रहेको छ । टप्पुवासीकालागि सुनसरीको प्रकाशपुर तथा उदयपुर तर्फ जान कोसी नदी पार गर्नु पर्ने हुन्छ । जसकालागि यातायातका साधनका रुपमा डुंगा बाहेकको विकल्प छैन् ।

तपाईको प्रतिक्रिया