अमर काफ्ले सुनसरी /चालकले मादक पदार्थ सेवन गरी चलाएको डुंगा छालमा अनियन्त्रिक हुँदा दुर्घटना भएको निष्कर्श सहितको प्रतिवेदन छानविन समितिले सुनसरी प्रशासन समक्ष बुझाएको छ ।
गत शनिवार सप्तकोसी नदीमा डुंगा पल्टिएपछि गठित सहायक प्रमुख जिल्लाअधिकारी कमल थापा नेतृत्वको छानविन समितिले प्रमुख जिल्ला अधिकारी मोहन चापागाई समक्ष बुझाएको प्रतिवेदनमा चालकले मादक पदार्थ सेवन गर्नुलाई दुर्घटनाको मूख्य कारण मानेको छ ।
प्रतिवेदनमा यात्रुको चाप अत्याधिक रहेको डुंगा मादक पदार्थ सेवन गरेका चालकले नियन्त्रण गुमाउदा पानीको छालमा परेर दुर्घटनामा परेको उल्लेख छ ।
लाइफ ज्याकेटको व्यवस्था नगरिनु, पूर्व सावधानी तथा सुरक्षाका उपायहरु नअपनाइनु जस्ता कारण डुंगा दुर्घटना हुँदा ठुलो मानविय क्षति पुगेको समितिको निष्कर्श छ ।
समितिले सप्तकोसीमा बाढी आउँदाको समयमा डुंगा संचालनमा रोक लगाउनु पर्ने र असार, श्रावण र भाद्र महिनाभर कोसीमा पूर्ण रुपमा डुंगा निषेध गर्न आवश्यक रहेको सुझाव सहितको प्रतिवेदन पेश गरेको छ ।
६३ जना सवार डुंगा कोसी नदीमा दुर्घटना हुँदा हराइरहेका ९ जना अझै वेपत्ता छन् । प्रतिवेदनमा वेपत्ता जीवित भेटिने अवस्था न्युन रहेको उल्लेख छ । दुर्घटना पश्चात ३७ जनाको तत्काल उद्धार गरिएको थियो भने १७ जना पछिबाट सम्पर्कमा आएका थिए ।

तपाईको प्रतिक्रिया