दिलिप कुमार साह
राजविराज, असोज ११ गते । देशकै पहिलो टाउन प्लानिङ्ग गरेर बसाइएको राजविराज सदरमुकाम अव्यवस्थित पार्किङले कुरुप बन्न थालेको छ ।
सबैभन्दा पहिलो टाउन प्लानिङ्ग गरेर बसाइएको र अधिराज्यको चौथो नगरपालिका राजविराज नगरका मुख्य सडकहरु सवारी साधनको पार्किङ स्थल बनेको छ । यसले नगर कुरुप बन्न थालेको हो । वि.सं. १९९४ मा सप्तकोशी नदीले पुरानो सदरमुकाम हनुमाननगरलाई कटान गर्न थालेपछि बि.स. १९९८ मा बसाइएको यस नगरको मुख्य सडकमा बस, ट्रक, जीप, म्याजिक, टेम्पो, मोटरसाइकलको जथाभावी पार्किङले अस्तव्यस्त हुनुको साथै कुरुप देखिन थालेको छ ।
अव्यवस्थित तथा जथाभावी सवारी साधनको पार्किङले आवतजावतमा समस्याको साथै यात्रु चढ्उने र ओरालिने समस्याले दुर्घटना समेत हुने गरेको छ । राजविराज सदरमुकामबाट सञ्चालन भइरहेको लामो दुरीका रात्री, दिवा सेवा, सानो दुरीका ठूलो सानो सवारी साधनलाई निश्चित र व्यवस्थित पार्किङ स्थल नरहेकोले यस्तो अवस्थामा पुगेको हो । वर्षौदेखि राजविराज–९ स्थित राजदेवी मन्दिर नजिक ठूलो सवारी साधन सञ्चालन तथा पार्किङको लागि निर्माणा सुरु गरिएको बस पार्किङ पूर्णता पाएको छैन ।
नगरदेखि करिब १ किलो मिटर पूर्व अवस्थित निर्माणाधिन बस पार्कसम्म आउजाउ गर्ने फराकिलो बाटो अभावले अथावस्थामा त्यहाँबाट बस सञ्चालन गर्न गरिएको निर्णय अनुसार बस धनीहरुले नमानेको कारण समस्या अथावत रहेको सगरमाथा जीप भ्यान तथा मिनी माइक्रो यातायात व्यवसायी संघका सह–सचिव देवनारायण गुरमैता यादवले जानकारी दिनुभयो । विगतमा नगरपालिका, यातायात व्यवसायी, ट्राफिक कार्यालयसँग ५÷७ पटकको बैठकपछि बस पार्कबाट सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिदै उहाँले भन्नुभयो, हामी ३ दिनसम्म म्याजिक बसपार्कबाट सञ्चालन गरियो तर बसधनीले बस सञ्चालन नगर्दा फिर्ता आएका छौ । अहिले नगरको पश्चिम बस स्टेण्डको मुख्य सडकमै पार्किङ गरेर म्याजिक सञ्चालन भइरहेको छ ।
निर्माणाधिन बस पार्कसम्म ठूलो सवारी साधनलाई आउजाउ गर्न बाटो साँगुरो रहेको कारण दुईतर्फि बस सञ्चालनमा निकै समस्या रहेको बस व्यवसायीहरु बताउँछन । बाटो फराकिलो गरेर बस पार्कलाई पूर्वाधारयुक्त बनाएमा त्यहाबाट बस सञ्चालन गर्न आफुहरु तयार रहेको बस व्यवसायीहरुको भनाइ छ ।
नगरको गजेन्द्र चोक, सिरहारोड, अस्पताल अगाडी, रुपनीरोड, छिन्नमस्ता रोड, जनआन्दोलन चोक, महाविर चोक सहित मुख्य सडकमै यात्रुबाहक सवारी साधनको पार्किङ र सञ्चालन भइरहेकोले नगरवासीलाई सास्ती व्यहोर्नु परेको छ ।
यता राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले जथाभावी पार्किङको व्यवस्थापन ट्राफिकले गर्नुपर्ने भनेर पन्छिन खोज्दै उहाँले भन्नुभयो, समस्या गाह्रो छ, तरपनि सरोकारबालसँग बसेर चाडै पार्किङलाई व्यस्थित गर्ने प्रयास गर्छु ।
पुरानो सदरमुकाम हनुमाननगरलाई सप्तकोशीले कटान गर्न थालिएपछि अन्यत्र सार्न उपयुक्त ठाउँको खोजीका लागि तत्कालीन बडाहाकिम प्रकाशशमशेर जबराले उपयुक्त ठाउँ खोजेर सहर बसाउने जिम्मेवारी ख्यातिप्राप्त इन्जिनीयर डिल्लीजङ्गलाई सुम्पिनु भएको थियो । उहाँले आफ्नो जमीनन्दारी मौजा रहेको जोलहरी मलेठ गाउँ नजिकैको राजपुर मौजामा सदरमुकाम बसाउने निधो गरेर त्यस बेला सुन्दर सहरकोरूपमा प्रसिद्धि पाएको भारत जयपुरको नक्सा बमोजिम टाउन प्लानिङ्ग गरी विं.सं.१९९८ मा राजविराज शहर बसाइयो हो ।

तपाईको प्रतिक्रिया