काठमाडौँ, १८ असोज / प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा सहमति मै आगामी सरकार बनाउने बारेमा छलफल भएको छ ।

प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान जारी गर्दा तीन दलबीच देखिएको सहमति, सहकार्य र एकतालाई निरन्तरता दिई अगाडि बढ्नेबारे छलफल भएको हो ।

बैठकमा आन्दोलनरत मधेसी मोर्चासँग भएका वार्ताका बारेमा समीक्षा भएको एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले बताउनुभयो । उहाँका अनुसार बैठकमा सीमानाकामा देखिएको अघोषित नाकाबन्दीका विषयमा समेत छलफल भएको थियो । अघोषित नाकाबन्दी खुलाउन कूटनीतिक एवम् राजनीतिक तहमा छलफल भइरहेको बताउँदै उपाध्यक्ष भण्डारीले भूपरिवेष्ठित देशले पाउने पारवहन सुविधाका विषयमा भारत सरकारसँग उच्च तहसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

तीन दलका तर्फबाट गठित वार्ता टोली र आन्दोलनरत दुवै मधेसी मोर्चाबीच अहिलेसम्म भएका वार्ताका उपलब्धिका विषयमा आफूहरुले बैठकलाई जानकारी गराउनुका साथै त्यस विषयमा समीक्षा भएको काँग्रेस केन्द्रीय सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले बताउनुभयो ।

आन्दोलनरत पक्षको माग बमोजिम सीमाङ्कनका विषयमा संविधान संशोधन तथा सङ्घीय आयोगलाई क्रियाशील बनाएर अगाडि बढ्ने विषयमा बैठकमा छलफल भएको मन्त्री आचार्यले बताउनुभयो । सरकारले आन्दोलनरत पक्षको मागबमोजिम वार्ताको वातावरण बनाउन सम्पूर्ण कार्य गरिसकेको मन्त्री आचार्यको भनाइ थियो । आजै अपराह्न बस्ने व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको संयुक्त बैठकका बारेमा पनि बैठकमा विचारविमर्श भएको थियो ।

साभार: पुर्बेली न्युज

तपाईको प्रतिक्रिया