इनरुवा असोज १४ /इनरुवा १ स्थित रहेको तारणी प्रसाद यादवले विरामी चेकजाँच गर्दै आएको इनरुवा पोली क्लिनिक सुनसरी प्रशासनले बन्द गराएको छ ।
विना इजाजत क्लिनिक संचालन गर्ने गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापा नेतृत्वको अनुगमन टोलीले सो क्लिनिक बन्द गराएको हो ।
आवश्यक प्रकृया पुरा नहुन्जेल क्लिनिक संचालन गर्न नपाउने भन्दै अनुगमन टोलीले क्लिनिक बन्द गराएपछी सिनियर अहेव यादवकोमा उपचारकालागि पुगेका विरामीहरु फर्केका थिए ।कार्यालय समय लगत्तै औषधी पसलहरुको अनुगमनमा निस्केको टोलीले अनुगमन गरेका ८ मध्ये ५ वटामा शिलबन्दी गरेको जनाएको छ ।
इनरुवाका सुनसरी मोडल हस्पिटलमा संचालनमा रहेको औषधी पसल, कोशी डाइग्नोसिस एण्ड रिसर्च सेन्टर, साएमा फार्मेसी एण्ड डाइग्नोस्टिक ल्याबरोटरी क्लिनिक , इनरुवा पोली क्लिनिक र अर्को एक नाम नखुलाई संचालनमा रहेको औषधी पसलमा शिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले बताउनुभयो ।
अनुगमन टोली कडाइका साथ अनुगमनमा उत्रिएपछि केहि क्लिनिक तथा औषधी पसलेहरु सटर बन्द गरी फरार भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी थापाले स्वास्थ्य जस्तो संवेदनशील कुरासँग सम्वन्धित भएकाले कानुन विपरित संचालनमा रहेका क्लिनिक तथा औषधी पसलहरु उपर कानुनी कार्वाही बाहेकको विकल्प नरहेको प्रतिकृया दिनुभयो । बन्द गरी फरार हुने संचालकका सवालमा अनुगमनको निरन्तरताका क्रममा त्रुटी संगत भेटिए कार्वाही गरी छाड्ने बताउनुभयो ।
नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले आफूहरुले अनुमतिको सबै प्रक्रिया अन्तिम रुपमा पुर्याएपनि जनस्वास्थ्य कार्यालयको ढिलाईका कारण पूर्ण हुन नसकेकोले पोली क्लिनिक अबैद्य रुपमा सञ्चालित रहेको जस्तो देखिएको बताए ।