काठमाडौं।उनका एक छोरा नेपाली सेनाका उच्चपदस्थ अधिकृत छन् । अर्का छोरा पनि नेपाल प्रहरीको जुनियर अधिकृत छन् । नेपाली सेनामा कार्यरत जेठा छोरा दिलबहादुर खड्का अहिले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको सिलसिलामा विदेशमा छन् भने कान्छा छोरा थीरहरि प्रहरी सेवाको सिलसिलामा काठमाडौंमै ।

आर्थिक रूपमा सम्पन्न यी दुईका ७७ वर्षीय वृद्ध बाबु गणेशबहादुर खड्काले भने झन्डै पाँच लाख रुपैयाँ ऋण नतिरेको अभियोगमा जेल जीवन बिताउनुपर्ने अवस्था आएको छ । नातामा छोरीज्वाइँ पर्नेसँग लिएको ऋण नतिर्दा वृद्ध गणेशबहादुरको बास अब कारागारमा हुन लागेको हो ।

ओखलढुंगा सिंहदेवी गाविसका गणेशबहादुरले २१ वर्षअघि ०५२ सालमा आफ्नै दाजुका छोरीज्वाइँसँग २ लाख ३६ हजार रुपैयाँ ऋण लिएका थिए । छोरीज्वाइँ नाता पर्ने रामकृष्ण भण्डारीले आफूसँग लिएको ऋण तिर्न गणेशबहादुरलाई धेरै ताकेता गरे । तर, कुनै सुनवाइ भएन । त्यसपछि यो मुद्दा अदालतसमक्ष पुग्यो ।

पुनरावेदन अदालत पाटनको फैसलाअनुसार अब गणेशबहादुरलाई काठमाडौं जिल्ला अदालतको पत्रको आधारमा पक्राउ गरी काठमाडौं ल्याउन लागिएको छ । उनलाई तीन दिनअघि सिंहदेवीबाटै पक्राउ गरिएको हो । उनलाई ६ असोज ०७३ को आदेशअनुसार एक वर्ष कैद भुक्तान गर्न भण्डारीले जेल बस्दा लाग्ने खर्च ३६ हजार ६ सय २० रुपैयाँसमेत जम्मा गरिदिएका छन् ।

अदालतले मुलुकी ऐन दण्डसजाय महलको ४२ नं। र लेनदेन व्यवहारको १९ नं। बमोजिम बिगो ४ लाख ७३ हजार ८ सय बुझाउनुपर्ने फैसला गरेको थियो । तर, उनले सो रकम तिर्न आनाकानी गरेपछि भण्डारीले उनलाई कैद सजायको माग गरेका हुन् । अदालतको आदेशलाई समेत बेवास्ता गरी गणेशबहादुरले भण्डारीको रकम बुझाउन आनाकानी गरेका थिए ।

०५२ सालमा लिएको रकमको ०५५ सालमा कागज परिवर्तन गरिएको थियो भने ०५९ सालमा पुनः अर्को कागज परिवर्तन गर्दा पनि उनले पैसा तिर्न आनाकानी गरेका थिए । त्यसको १० वर्षपछि २३ असोज ०६९ मा काठमाडौं जिल्ला अदालतमा पहिलो फैसला भएको थियो ।

सो फैसलाविरुद्ध पुनरावेदन गरेका गणेशबहादुरले ११ पुस ०७१ को अर्को फैसलामा समेत हारेका थिए । भण्डारीले १४ माघ ०७२ मा फैसलाबमोजिमको बिगो भराइपाऊँ भन्दै अर्को दरखास्त दिएका थिए । तर, त्यसलाई पनि उनले बेवास्ता गरेका थिए ।

सो मुद्दा हेरिरहेका अधिवक्ता कुमार घिमिरे उनका दुई भाइ छोरा पनि सरकारी जागिरे रहेको अवस्थामा पैसा तिर्न नसक्नु अचम्मको विषय भएको बताउँछन् । ‘उनका छोराहरू वृद्ध गणेशबहादुरले लिएको रकम तिर्न सक्ने अवस्थामा छन्, तर, दसैंको मुखमा ७७ वर्षीय वृद्ध बाबुलाई जेल पठाउन किन रहर लागेको हो, बुझ्न सकिएन,’ अधिवक्ता घिमिरेले भने आजको राजधानीमा खबर छ।

तपाईको प्रतिक्रिया