Ticket

काठमाडौं। चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा बस चलाउँदाको यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने सहमति भएको छ । सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नदिने सरकारको निर्णयको विरोध गर्दै व्यवसायीले ४० प्रतिशत बस चलाउन मानेका थिएनन् ।सिट क्षमताअनुसार मात्र यात्रु राख्दा घाटा हुने भन्दै उनीहरूले एकतर्फी बाटोको इन्धन खर्च सरकारले दिनुपर्ने अडान राख्दै आएका थिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले आइतबारको छलफलपछि व्यवसायीहरू सबै बस चलाउन तयार भएको बताए । ‘सोमबारदेखि फेरि बसको टिकट अग्रिम बुकिङ खुल्नेछ,’ उनले भने, ‘जिल्ला र ग्यारेजमा रहेका बसहरू ल्याएर चलाउन व्यवसायीहरू तयार भएका छन् ।’व्यवसायीहरूको अनावश्यक अडानपछि सरकारले स्कुल, कलेज तथा सरकारी बसहरू सञ्चालन गरी दसैँमा यात्रु ओसार्ने तयारी गरेको थियो ।

दसैँमा घर जान काठमाडौं उपत्यकामा रहेका करिब १० लाख सर्वसाधारणले मात्र टिकट पाएका छन् । हरेक वर्ष करिब १८ लाख मानिस सार्वजनिक यातायातबाट गृहजिल्ला जाने गरेका छन् । गत ७ असोजमा टिकट खुलेकोमा तीन दिनमै टिकट सकिएको भन्दै व्यवसायीले थप बस चलाउन मानिरहेका थिएनन् । सरकारसँगको सहमतिपछि सोमबारदेखि थप बस चलाउन व्यवसायी तयार भएका छन् आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया