इनरुवा अनलाइनको समाचार प्रभावले जन्जिर मुक्त भए अमित

zanzir mutka amit1
अमर काफ्ले इनरुवा असोज  १९/ अमितले ८ वर्षे कष्टकर जीवनबाट छुट्कारा पाएका छन् । सुनसरीको औरावनी घर भएका मानसिक रोगी अमितलाई परिवारले ८ वर्षयता सिक्रीमा बाँधेर राख्दै आएका थिए । इनरुवा अनलाइन, उद्घोष दैनिक, मकालु र हिमालय टेलिभिजन सहितका अन्य स्थानीय संचारमाध्यमहरुमा प्रकाशन प्रशारण भएको सिक्रीमा जकडिएको जीवन शिर्षकको समाचारले अमित साहकालागि सहयोगी हातहरु जुट्न थालेका थिए । संचारमाध्यमबाट अमितको अवस्थाबारे समाचार प्रकाशन र प्रशारण पश्चात राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय बिराटनगरले आज अमितको उद्धार गरेको हो ।

zanzir mutka amit
परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन नसकि सिक्रीमा बाँधेर राखिएका अमितको उद्धारका लागि मानव अधिकार आयोगका क्षेत्रीय संयोजक झन्कारबहादुर रावल सहित इन्सेक पूर्वाञ्चल संयोजक सोम थापा, कोकनकी मञ्जिता उपाध्याय र पहल समूहका प्रतीनिधी आज औरावनी पुगेका थिए ।टहरो भित्र बाँधिएका मानशिक रोगी अमितलाई उनको परिवारको सहमतिमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुल्क उपचारकालागि व्यवस्था मिलाएको मानव अधिकार आयोय पूर्वाञ्चल संयोजक झन्कारबहादुर रावलले बताउनुभयो  ।

zanzir mutka amit2
क्षेत्रीय निर्देषक रावलले समाचारबाट उक्त विषयमा आफुलाई ध्यानाकर्षण गराएको र अमितको अवस्थाबारे विस्तुत विवरण संलकन पश्चात उद्धार र उपचारमा जुटेको बताउनुभयो । अमित विगत ८ वर्ष देखि उपचार अभावमा सिक्रीमा बाँधिएर कष्टकर जीवन विताउन बाध्य थिए ।
अमितसँगै मधेलीका अर्का मानशिक रोगी भई बांधिएर राखिएका सकिल मोहम्मदलाई समेत आयोग सहितको टोलीले उपचारकालागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । यसअघि समाचारकै प्रभावका कारण सुनसरी प्रशासनले अमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सेवा सुविधाकालागि पहल गर्ने प्रतिवद्धता जनाएको थियो । महिला तथा बालबालिका कार्यालय सुनसरी र करुणा फाउण्डेसनले स्थानीयतहमा अमितको सहयोगका लागि पहल गरेका थिए ।

तपाईको प्रतिक्रिया