china flagकाठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण निश्चित गराउने विषयमा सरकार आफैं अन्योलमा परेको छ । सीले भारतको गोवा जाँदा वा फर्कंदा नेपाल भ्रमण गर्ने अपेक्षा गरिए पनि अहिले टरेको छ । नेपाल नआउने भन्दा पनि बंगलादेश जाने तर नेपाल नआउने चिनियाँ निर्णयले आफूहरूलाई दुस्खी बनाएको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । ‘

यसले नेपालको आन्तरिक राजनीति नै अन्योलमा पारेको छ,’ उनले भने, ‘यही विषयका कारण दलहरूबीच दोहोरी चलिरहेको छ । हामी प्रयास गरिरहेका छौं । अहिले नभए पनि पुसको अन्त्यसम्म ल्याउने प्रयासमा सरकार लागेको छ ।’ चिनियाँ राष्ट्रपति सी असोज २८ मा बंगलादेशमा पुग्ने र भोलिपल्ट गोवा जाने भएका छन् ।

गोवा भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयका लागि सबै खाले प्रयास गर्ने उनी निकटस्थहरूले बताए । उनीहरूका अनुसार प्रधानमन्त्री भएपछि भारत भ्रमण गरेका र त्यही समयमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण तय समेत गराएका दाहालले मुलुकका राजनीतिक सन्तुलनका लागि पनि चिनियाँ राष्ट्रपतिको भ्रमण गराउने चुनौती देखिएको छ ।

‘चिनियाँ राष्ट्रपति सजिलै नेपाल भ्रमणमा आउने सम्भावना छैन । तर पनि दाहाल राष्ट्रपति सीले दक्षिण एसियामा पत्याएका नेतामध्ये एक भएकै कारण भ्रमणको सम्भावना अझै टरेको छैन,’ प्रधानमन्त्री निकटस्थले सुनाए, ‘नेपालको कर्मचारीतन्त्र तथा कूटनीतिक निकायमा पनि चीन मोह वा तटस्थता नहुँदा समस्या देखिएको हो ।’ सीको भ्रमण हुने विषय अन्त्य नभएकाले केही महिनामै भ्रमण हुने गरी काम गरिने अधिकारीहरूले बताएका छन् ।

नयाँ संविधान कार्यान्वयनका लागि नेपालमा प्रभाव राख्ने छिमेकीको सहयोग लिनुपर्ने बाध्यता भए पनि चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने र एक चीन नीतिको पालना गर्दै दुवै मुलुकसँगको सम्बन्धलाई ध्यान दिएर अघि बढ्ने सन्देश प्रधानमन्त्री दाहालले दिइसकेका छन् ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह (ब्रिक्स) को आठौं शिखर सम्मेलनमा सहभागी हुन गोवामा पुगेकै दिन अर्थात् २९ मा दाहालले चिनियाँ राष्ट्रपति सीसँग दुईपक्षीय भेट गर्नेछन् । पर्यवेक्षक राष्ट्रको प्रतिनिधिका रूपमा प्रधानमन्त्री दाहाल ब्रिक्स सम्मेलनमा सहभागी हुने भएपछि भेट मिलाइएको हो । भेटमा सी र दाहालको मात्र पनि कुराकानी हुने अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणबारे पनि छलफल हुनेछ । ‘दाहाल र सीको साइडलाइन वार्तामा समग्र दुईपक्षीय विषयमा छलफल हुनेछ,’ परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने । दाहालले प्रधानमन्त्री भएको एक महिनामै भारत भ्रमण गरेका थिए । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलगत्तै उनी चीन जाने गरी तयारी भइरहेको छ । उनको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन कोसिस गर्ने अधिकारीहरूले बताएका छन् ।

ब्रिक्स सम्मेलनमा सार्क र विमस्टेकका सदस्य राष्ट्रहरू नेपालसहित बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड र म्यानमार पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् ।यसअघि सिले राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै दाहाललाई चीन निम्त्याएर भेट गरेका थिए । दाहालले यसअघिका चिनियाँ राष्ट्रपति हु जिन्तओसँग पनि भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार ऋषिराज अधिकारीले गोवामा चिनियाँ राष्ट्रपतिसँग हुने भेटलाई महत्वका साथ हेरिएको बताए । ‘यो भ्रमणले दुईपक्षीय सम्बन्ध उचाईमा लैजाने र थाति रहेका सहमति अघि बढाउनेमा सरकार विश्वस्त छ, नेपाल भ्रमणको मिति पनि तय हुने विश्वास छ,’ उनले भने, ‘चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न हामी आतुर रहेको जानकारी दिनेछौं ।’

प्रधानमन्त्रीले राष्ट्रपति सीसँग नेपालको अघिल्लो सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै थप सहकार्यका निम्ति तयार रहेको जानकारी गराउने पनि बताइएको छ । त्यसका लागि नेपाल र चीनबीच दुई सातापछि ल्हासामा पारवहन र व्यापारसम्बन्धी प्रोटोकललाई अन्तिम रूप दिन बैठकसमेत बस्ने तयारी छ । बैठकबारे चिनियाँ यातायात मन्त्रालयले प्रस्ताव गरिसकेको भए पनि नेपालबाट स्पष्ट हुन नसकेको परराष्ट्र अधिकारीले बताए ।

नेपालमा बस्ने भनिएको उक्त बैठकलाई तिब्बतमा बस्ने गरी तयारी अघि बढाइएको हो । बैठकमा चीनले उपलब्ध गराउने बन्दरगाह, सडक मार्ग तेस्रो मुलुकसँगको पहुँचलगायतमा स्पष्ट धारणा राख्नुपर्छ । यसमा नेपालको तयारी पर्याप्त नहुँदा अर्को साताका लागि प्रस्तावित बैठक सर्ने सम्भावना रहेको परराष्ट्र अधिकारीले बताए । ‘यातायात, परराष्ट्र, कानुन, वाणिज्यलगायतका सहसचिवहरू उक्त बैठकमा सहभागी हुने गरी सबै खालको तयारी गर्नपर्छ,’ ती अधिकारीले भने ।

प्रधानमन्त्री दाहालले वान बेल्ट वान रोडमा नेपालको सभागिता निश्चित गर्दै चीनले उठाउँदै आएको त्रिपक्षीय सहकार्यमा आफ्नो तर्फबाट औपचारिक कुरा राख्नेसम्मको तयारीका साथ सीसँग कुरा गर्ने भएका छन् । त्रिपक्षीय सहकार्य र नेपालको विकासका लागि भारतीय नेतृत्व र चिनियाँ नेतृत्वबीच पनि कुराकानी हुने भएकाले दाहाललाई यो विषय राख्न सहजसमेत हुनेछ ।

त्रिपक्षीय सहकार्यमा भारतले त्यति चासो नदेखाएको बुझाइ चीनको छ । गत वर्षको महाभूकम्पपछि चीनले दिने घोषणा गरेको सहयोगको विषयमा पनि समेत छलफल हुनेछ । त्यसमा सम्झौता नै हुने गरी नेपालले तयारी गरेको परराष्ट्र अधिकारीले बताए ।

यसअघि चिनियाँ राजदूत उ छुन्थाईले प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री महतसँग बिदाइ भेट गर्दा पनि यस्ता विषयहरूमा छलफल भएका थिए । प्रधानमन्त्री दाहाल १९ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै गोवा जाने र त्यहाँ अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम तय भइरहेको छ । श्रीलंकाकाको नेतृत्वसँग त्यहाँका जेलमा रहेका नेपालीलाई स्थानान्तरण गर्ने विषयमा समेत सहमति गर्ने तयारी प्रधानमन्त्रीको रहेको अधिकारीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया