urmila-Urab-jaleki-mahila
४ कात्तिक अमर काफ्ले इनरुवा । चाँदवेला जन्मथलो भएकी उर्मिला उराव यतिवेला मृत्यसँग जुधिरहेकि छिन् । दमक १५ चिया बगानका मङग्रु उरावसँग दुई वर्ष अघि वैवाहिक बन्धनमा बाँधिएकी उर्मिला यतिवेला माइतीको सहारामा छिन् । पटक पटक घरेलु हिंसाको शिकार बन्दै आएकी उर्मिला शरिरभरी पिल्सिएका असह्य घाउ बोकी छटपटाउन बाध्य छिन् ।

कारण एउटै छ : माइती पक्ष जो आगोले जलेको उर्मिलाको उपचार गराउन असमर्थ छ । घटना दुई महिना अघिको हो । झापा स्थित घरमै रहँदा रात्रीको समयमा उर्मिला र उनका श्रीमान मङग्रुवीच निकै भनाभन अनि हातहालाहालको अवस्था सीर्जना हुन पुग्यो । मादक पदार्थ सेवन गरी मात्तिएका श्रीमानको कुटाइले रनथनिएकी उर्मिला अन्नतः आवेगमा हतारको निर्णयमा पुगिन ।

पटक पटकको शारिरीक यातनाबाट आजित बनेकी उर्मिलाले त्यो रात श्रीमानसँगको वादविवाद अनि यातना सहन नसकि आवेगमा आफ्नै शरिरलाई जलाउने प्रयास गरिन् । मट्टितेल खन्याएर शरिरमा आगो लगाउँदा निस्केको चिच्याहट रक्सीले मात्तिएका श्रीमान र घरमा रहेकी सासु भन्दा पनि वरपरका गाउलेले थाहा पाएका रहेछन् । उर्मिलाकी बहिनी बताउने निर्मला उरावले छरछिमेकी मिलेर आगोले जलेकी दिदीलाई उपचारकालागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएपछि आफुहरुले थाहा पाई भोलिपल्ट अस्पताल पुगेको बताइन् ।

एकदिनको उपचार विपीमा गरिएको बताउने बहिनी निर्मलाले चिकित्सकले थप उपचारकालागि भारतको सिलिगुडी या काठमाण्डौ लैजान भनेपछि उपचार खर्च अभावमा दिदीको उपचार गर्न नसकिएको सुनाइन् । धरानबाट रिफर पश्चात माइती घर चाँदवेला पुरयाइदा सँगै आएका उर्मिलाका श्रीमान केहीदिन सँगै बसेर पैसा खोजेर आउने भन्दै हिंडेको निकै दिन बित्यो । मङग्रु भने सम्पर्कमा आएनन् । घटनाबारे उजुरी नदिँदा दुई महिना सम्म उर्मिला माइतीघरमै छटपटाई बस्न बाध्य बनिन् ।

एककान दुईकान हुँदै उक्त घटना बाहिरिएपछि स्थानीय अधिकारकर्मीहरुले बुधवार उर्मिलालाई उपचारका लागि भन्दै जिल्ला अस्पताल इनरुवा त पुर्याए । तर विपी प्रतिष्ठान धरानले रिफर गरेको विरामी आफुहरुले उपचार गर्न नसक्ने अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएपछि अकमक्क परेको उर्मिलाको माइती पक्ष घण्टौं अस्पताल परिषरमा टोलाइरहे ।

एम्बुलेन्स भित्रै घण्टौं छटपटाइ रहेकी उर्मिलाको आगोले पोलेको शरिर गन्हाइरहँदा कहाँ लाने र के गर्ने भन्ने घण्टौंको वहस पछि ओसिएमसी इनरुवाको पहलमा उनलाई उपचारकालागि काठमाण्डौको विर अस्पताल लैजाने तयारी गरिएको महिला तथा बालबालिका अधिकृत रश्मि श्रेष्ठले बताइन् । उर्मिलाको उपचार खर्चकालागि स्थानीय संघसंस्थाले समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सुनिन थालेको शरिर अनि घाउ गन्हाउन थालेकाले उर्मिलाको अवस्था के होला नहोला भन्न सक्ने अवस्था नरहेको महिला अधिकारकर्मीहरु बताउँछन् । मृत्युसँग जुधिरहेकी उर्मिलाले उपचार पाउन लाग्दा उनको माइती पक्षका आफन्तको मुहारमा थोरैभएपनि आशाका किरणहरु पलाएको छ । निको हुने आशमा उपचार सहयोगका लागि उनिहरुले सवैसँग सहयोगको आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया