६ कात्तिक,  दिलिप साह राजविराज। राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान सप्तरी स्थित प्रसिद्ध सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ भगवती मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्नुभएको छ । बिहान १०ः२० बजेको समयमा दर्शन तथा पूजाअर्चना गरेर मन्दिर परिसरमै लक्षचण्डी रुद्र महायज्ञको शिलान्यास समेत गर्नु भएको छ ।

विहान १० बजेको समयमा हेलिकोप्टरबाट छिन्नमस्ता भगवती शक्तिपीठमा अवतरण गर्नुभएको राष्ट्रपति भण्डारीले पूजाअर्चना तथा अराधना पश्चात आयोजित नागरिक भेलालाई सम्बोधन गर्दै विश्वमानवता, भातृत्व र स्थायी शान्तिको लागि पूजाअर्चना गरेको बताउनुभयो । हिमाल, पहाड, तराईमा विविभयुक्त संस्कृति रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, जुनसुकै भाषाभाषी, समुदाय, धर्मको संस्कृति जेसुकै भएपनि सबैको मुल उद्देश्य दीगो शान्ति, विश्व मानव कल्याण होस रहेको छ ।

सो अवसरमा छिन्नमस्ता गाविसका निवर्तमान अध्यक्ष सत्यनारायण यादवले राष्ट्रपति समक्ष छिन्नमस्ता मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा घोषणा, राजविराज विमान स्थलको नियमित सुचारु, गाइघाट–राजविराज–बनैनिया–छिन्नमस्ता सडक निर्माण, संस्कृत विद्यालयलाई प्लस दुई सम्म सञ्चालन लगायत १३ बुँदे स्थानीय विकास निर्माण तथा समस्या पेश गर्नु भएको छ । सो समस्यालाई ग्रहण गर्दै राष्ट्रपतिले तुरुन्त सरकारलाई कार्यान्वयनका लागि निर्देशन दिने बताउनुभयो ।

स्थानीय स्तरको विकासका लागि स्थानीयवासी तात्नु पर्ने बताउनुहुँदै उहाँले मन्दिरको दिगो विकासका लागि बृहद गुरु योजना बनाएर पेश गर्न निर्देशन दिनुभयो । मन्दिरको विकासका लागि आफ्नो सहयोग समर्थन रहने विश्वास दिलाउँदै उहाँले छिन्नमस्ताको दर्शन गर्न संयोग जुडेकोमा खुशी तथा धन्यवाद व्यक्त गर्नुभयो ।

शक्तिपीठका पीठाधीश महाकान्त ठाकुर, शक्तिपीठ संरक्षण सम्वद्र्धन समिति अध्यक्ष अविनाश प्याकुरेल, लक्षचण्डी महायज्ञ आयोजक समितिका पदाधिकारीहरुले स्वागत गर्दै राष्ट्रपति भण्डारी नेपालको छोरी भएकोले साडी, चोलो, चाँदर सहित मिथिलाको भार (पोको) उपहार प्रदान गरेको छ । राष्ट्रपति शक्तिपीठमा आउनु भएकोले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

तपाईको प्रतिक्रिया