१६ कार्तिक, गोविन्द बस्नेत धरान । इटहरी नगरपालिका वडा नं. २४ तरहराको भोजपुरे होटलमा गोली चल्दा दुईजना घाइते भएका छन् ।
विहान ३ बजेको समयमा एक युवकले अन्धाधुन्ध गोली चलाउदा होटल सञ्चालक ७१ बर्षीय जंगमान राई र सोही होटलमा लजमा बसेका चानुवा गाविस वडा नं २ का ५० बर्षीय तोर्णबहादुर पौडेल घाइते भएका हुन् ।

घाइते दुवैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार भइरहेको छ । घाइते होटल सञ्चालक राईलाई तीन ठाउमा गोली लागेको छ । उहाको देब्रे छातिदेखि माथिको भाग, छातीदेखि एक इन्च तल र पेटमा गोली लागेको छ भने घाइते पौडेलेका दाहिने हातको पाखुरामा दुई वटा गोली र दाहिने खुट्टामा एक गोली लागेको हो ।

उनीहरुको अवस्था अहिले सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । राति सोही होटलमा कोठा लिएर आएका अन्दाजी २५ बर्षको देखिने विहानको समयमा पहिलोपटक पौडेललाई गोली हान्दा पौडेल आत्तिएपछि आफू त्यहा जाने क्रममा आफूलाई समेत गोली हानेको घाइते होटल सञ्चालक राइको भनाई छ । यस्तै घाइते पौडेले समेत आफू सुतिरहेको अवस्थामा झ्यालबाट गोली हानेर फरार रहेको बताउनुभएको छ ।

घाइते दुवै जनाले कोहीसंग व्यक्तिगत दुश्मनी नभएको र गोली चलाउनेलाई नचिन्ने बताए पनि प्रहरीले भने व्यक्तिगत रिसिइवीका कारण गोली चलेको अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पोषराज पोख्रेलले घट्ना लुटपाटको नभई व्यक्तिगत रिसइवी भएको हुनसक्ने बताउदै घट्नाको चाडै खुलासा गर्ने बताउनुभयो ।

चाडपर्वको समयमा प्रहरीले चेकजाच र सुरक्षा गस्तीलाई बढाएको भनिए पनि इटहरी जस्तो व्यस्त बजारमा आज विहान चल्नु सुरक्षामै चुनौति प्रश्न चिन्ह खडा भएको सर्वसाधारणको भनाई छ ।

तपाईको प्रतिक्रिया