Gamal-Albinsaid

आजको दुनियामा साथमा पैसा छैन भने केही छैन । उपचार निकै महंगो भैरहेको छ । त्यसैले गरीबका लागि रोगको उपचार पनि असम्भव बन्दैछ । डाक्टरहरु पनि निकै पैसामुखी भएको र विरामीको संवेदनामा खेलवाड गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर यो स्वार्थी दुनियामा एकजना यस्ता डाक्टर निस्किएका छन् जसले बिरामीको खुरुखुरु उपचार गर्छन् तर पैसा लिँदैनन् । पैसाको बदलामा उनले फोहोरका पोका लिन्छन् ।

नेपालमै यस्ता डाक्टर रहेछन् की भनेर मख्ख पर्नुहोला, तर होइन । इण्डोनेसियामा छन् यी डाक्टर । २६ वर्षका गमाल अलबिनसइद नामका यी डाक्टरको यो नयाँ अभियानले पर्यावरण र चिकित्सा दुवै क्षेत्रमा नयाँ क्रान्तिको सुरुवात गरेको छ ।

बिरामीको उपचारको शुल्क स्वरुप पैसा नभै फोहोर लिने यी डाक्टर गमालको यो अभियानले इण्डोनेसियाका दुइ ठूला समस्याको समाधानका लागि नयाँ मार्ग प्रसस्त गरेको छ । इण्डोनेसियामा धेरै मानिस गरीबीकै कारण उपचारबाट बञ्चित रहेका छन् । गमालको यो कार्यक्रममा गार्बेज क्लिनिकल इन्स्योरेन्स जिसिआइ कम्पनीले सहयोग गरेको छ ।

Safai

फोहोरको बदला विमा

गमालको यो अभियान अन्तरगत फोहोरको बदला मानिसहरुको विमा गरिन्छ । यसका लागि मानिसहरुले पुनचक्रण गर्न मिल्ने फोहोरहरु क्लिनिकमा जम्मा गर्नुपर्ने हुन्छ । यी फोहोरमा रहेका प्लास्टिकका बोतल लगायतका उपयोगी समानहरु पुनचक्रण गर्ने कम्पनीहरुलाई बेचिन्छ । त्यसका साथै जैविक फोहोरलाई मल बनाउन प्रयोग गरिन्छ । यसरी निश्चित परिमाणमा फोहोर जम्मा गरिसकेपछि उक्त व्यक्तिले दुइ महिनासम्म क्लिनिकबाट निशुल्क स्वास्थ्य सुविधा प्राप्त गर्नसक्छ ।

यो निकै नविनतम तथा हितकारी सोँचका कारण केवल गरीबहरुले उपचार गराउन मात्र पाएका छैनन्, वातावरण प्रदुषण नियन्त्रणमा पनि सहयोग पुगेको छ । मानिसहरु आफ्ना कुँडाकर्कटहरुप्रति बढि जिम्मेवार बन्ने गरेका छन् र फोहोरलाई मोहोर ठान्ने गरेका छन् ।

तथ्यांक अनुसार इण्डोनेसियाबाट त्यहाँको सामुद्रिक क्षेत्रमा वर्षेनी ३२ लाख टन फोहोर जान्छ । जुन विश्वभर महासागरमा जाने फोहोरको १० प्रतिशत हो । यस्तोमा ती युवा डाक्टरको लघु स्वास्थ्य विमा कार्यक्रम निकै लोकप्रिय बन्दै गएको छ । यो कार्यक्रमलाई विश्वभर फैलाउने सोँच उनको छ । अहिलेसम्म इण्डोनेसियामा उनले यस्ता पाँच वटा क्लिनिक संचालनमा ल्याएका छन् जसले फोहोरको बदला निशुल्क उपचार गराउँछन् । जसमा ३५ सय भन्दा बढि विरामीको उपचार भैसकेको छ । उनी आफ्नो यो उदाहरणीय कामका लागि बेलायती राजकुमार चार्ल्सबाट सम्मानित समेत भैसकेका छन् ।अनलाइनखबरबाट

 

भिडियो हेर्नुहोस्

 

तपाईको प्रतिक्रिया