dasgaja-sunsari-amar

अमर काफ्ले सुनसरी /नेपाल भारत सीमा क्षेत्रको दशगजा नजिक भारतले नियम विपरित बाँध निर्माणको कार्य गर्दै आएको फेला परेको छ । सुनसरीको श्रीपुर जब्दी गाविसको वडा नम्वर ७ मा पर्ने दशगजा क्षेत्रमा अन्र्तराष्ट्रिय नियम विपरित भारतीय पक्षले १५ फिट अग्लो बाँध आकारको संरचना निर्माण गरिरहेको छ।

अन्र्तराष्ट्रिय सीमा क्षेत्रको १० किलोमिटर सम्म छिमेकी मुलुकलाई असर गर्ने गरी कुनै पनि ठुला खाले संरचना गर्न पाइने छैन् । दशगजा क्षेत्रको ५ सय मिटरको दुरीमा निर्माण भैरहेको बाँध आकारको संरचना निर्माण पुरा भए वर्षाको समयमा उत्तरतर्फबाट बगेर आएको पानी निकास नभई लौकही देखी हरिपुरसम्मको नेपाली भुभाग डुबानमा पर्ने निश्चित रहेको जानकारहरुको बुझाई छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबीको निगरानीमा दशगजा जोडेर पुरानो सडक मर्मतका नाममा माटोको उच्च ढिस्को आकारको संरचना निर्माण गरी ग्राभेल र माटो पेल्ने कार्य एकसाता यता तिव्र गतिमा रहेको नेपाली पक्षका नागरिकहरुको भनाई छ । सो क्षेत्रमा नेपालीहरुलाई हिडडुलमा समेत कडाई गरिएको र सानोतिनो कुरोमा समेत एसएसबीले कुटपिट गर्ने डरका कारण सीमावर्ति क्षेत्रका स्थानीयहरु खुलेर बोल्न चाहदैनन् ।

उता सो विषयमा ससस्त्र सीमा सुरक्षा बल सुनसरीले केही बताउन चाहेन् । सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले पुरानो बाटो मर्मत बारे सूचना आएको भएपनि बाँध आकारको संरचना निर्माणको विषयमा अध्ययन थालिने बताउनु भएको छ । भारतीय सुरक्षा स्रोतका अनुसार सन् २०१६ बाट निर्माण सुरु गरेको सो बाटोको नामको बाँध २०१७ को मे सम्ममा बीरपुरदेखि बसमतिया सम्म पक्कि बनाउने र सन् २०२० सम्ममा सो संरचना जोगबनी सम्म पुर्याउने योजना मुताबिक काम भैरहेको हो ।

हाल सडक मर्मतका नाममा बाँध आकारको संरचना निर्माण भैरहेको क्षेत्र श्रीपुर जब्दीको वडा नम्वर ७ को नेपाल भारत पूर्वि सीमा दशगजाको १९९-१ – wp ७२, १९९ र २ र wp ७३, १९९ र ३ देखी wp ७४, १९९-४ र ५ देखि २०० सम्मको क्षेत्रमा करिब ५ किलोमिटर लामो बाँध निर्माण भैरहेको हो ।

भारतको विहार सुपौल जिल्लाको तीन खम्बा ग्राम पञ्चायत, बनेलीपट्टी , बेला ग्राम पञ्चायत र रिफ्युजी कोलेनी जोड्ने क्षेत्रमा उक्त संरचना निर्माण भैरहेको पाइएको हो ।

तपाईको प्रतिक्रिया