Nitish-And-Lalu

२२ कात्तिक, काठमाडौं । विहार विधानसभा चुनावमा नीतिशकुमार र लालु यादवको महागठवन्धनले दुई तिहाइ बहुमत ल्याएको छ । भारतीय जनता पार्टी भने तेस्रो दलमा खुम्चिएको छ ।

आइतबार भएको मतगणनाको सुरुमा भाजपा गठवन्धनले अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेन । बिहार विधान सभाको २४३ सिट मध्ये १७८ मा नीतिश-लालुको गठवन्धन विजयी भएको छ ।

केन्द्रीय सत्तारुढ भारतीय जनता पार्टीसहितको गठवन्धनले भने ५८ सिटमा मात्रै जितेको छ । जसमा ५२ भाजपाको छ । केन्द्रमा बहुमतको सरकार बनाएको भाजपाले दिल्लीमा पनि यस्तै हार व्यहोरेको थियो ।

अन्य दलले सात सिट जितेका छन् । बिहार विधान सभामा सबैभन्दा ठूलो दल भने महागठवन्धनको लालुप्रसाद यादवको राष्ट्रिय जनता दल भएको छ । उसले ७९ सिट जितेको छ र बिहारमा लालुको कमब्याक भएको छ ।

दोस्रो नीतिशको जनता दल युनाइटेड भएको छ । महागठवन्धनमा आवद्ध कांग्रेसले २५ सिट जितेको छ । यो चुनावी परिणामसँगै नीतिशकुमार तेस्रो पटक विहारको मुख्यमन्त्री हुने भएका छन् । महागठवन्धनले नीतिशलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो । जितपछि लालुले नीतिश नै मुख्यमन्त्री हुने बताएका छन् ।

साथै उनलाई २०१९ को आम चुनावमा प्रधानमन्त्रीको उम्मेदवार बन्न समेत सहज भएको आंकलन गरिएको छ ।

मोदीले स्वीकार गरे हार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बीपेजीका अध्यक्ष अमित शाहले नीतिशकुमारलाई बधाइ दिएका छन् । शाहले बिहारका जनताको जनादेशलाई सम्मान गर्ने भन्दै भनेका छन्-‘नयाँ सरकारलाई मेरो शुभकामना छ कि बिहारलाई विकासको पथमा अगाडि लैजाओस् ।’

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहारको हारले दिल्लीमाथि भइरहेको केन्द्र सरकारको हस्तक्षेप रोकिने अपेक्षा व्यक्त गरेका छन् । उनले भने- ‘अन्य राज्यमा पनि केन्द्र सरकारको हस्तक्षेप बन्द होस् । हामी अपेक्षा गर्छौं कि सवा लाख करोडको विकास प्याकेज प्रधानमन्त्रीले बिहारमा घोषणा गर्नुभएको थियो, त्यो छिट्टै बिहारलाई दिइनेछ ।’अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया