sunsari-distric-final- inaruwa dalgat bad fad

१३ मंसिर, अमर काफ्ले इनरुवा/ यतिवेला इनरुवा नगरका १० वटा वडाहरु कुनलाई कता समायोजन गर्ने भन्ने मुद्धा निकै पेचिलो बनेको छ ।

इनरुवा नगरपालिकामा हाल रहेका १० वटा वडालाई घटाएर पाँच वटामा कायम गर्न भैरहेको प्रयास अनिर्णित बन्दै जाँदा दलीय खिचातानीले उक्त मुद्धालाई थप पेचिलो बनाउँदै लगेको छ ।

स्थानीय तहमा रहेका दलहरुवीच साझा सहमति कायम गरी वडा समायोजनका लागि भैरहेको पटक पटकको प्रयास असफल बन्दैजाँदा नगरवासी समेत दलीय स्वार्थले नकारात्मक परिणाम निम्तन सक्ने आशंका व्यक्त गर्न थालेका छन् । साझा सहमति सहितको मिलन विन्दु खोजिनु पर्नेमा स्वयं दलहरुनै आपसी खिचातानीमा लाग्नु दुर्भाग्यपूर्ण भएको उनिहरुको बुझाई छ ।

जिल्ला पुर्नसंरचना समिति सुनसरीले यसअघि इनरुवा नगरपालिकाका १० वटै वडा कायम रहने गरी मधेशा, बबिया, डुम्राहाको मिसाइएका केही वडा, चाँदबेला र जल्पापुरलाई एक एक वडा निर्धारण हुनेगरी १५ वटा वडा सिफारिस गरेको थियो ।

पुर्नसंरचना निर्धारण आयोगले जिल्लाबाट प्राप्त सिफारिसलाई नगरभित्रको वडा सिफारिस नियम संगत नभएको जनाउँदै जनसंख्याका आधारमा पुर्न निर्धारण गरी पठाउन परिपत्र गरेपछि सो विषयमा सुरु भएको दलीय बहस एकअर्कामा आरोप प्रत्यारोप सहितको थप जटिलतार्फ उन्मूख बनेको छ ।

आयोगका अनुसार ६ हजार ४ सय भन्दा १५ प्रतिशत कम वा बढी जनसंख्या मिल्नेगरी वडाको पुर्नसंरचना गरिनुपर्ने हुन्छ । जसअनुसार इनरुवा नगरपालिकामा हाल कायम रहेका १० वटा वडालाई एकआसपमा समायोजन गराइनुपर्ने हुन्छ ।

वडा समायोजनकालागि नगरपालिकामा बस्दै आएको सर्वदलिय बैठकले ५ वडा कायम गर्ने बताएपनि कुन वडा कता पार्ने भन्ने प्रमुख मुद्धानै विवादित बन्न पुगेको छ ।

नेपाली काँग्रेसले आफ्नो समर्थनमा रहेका केहि दललाई साथमा लिएर ल्याएको प्रस्ताव एमाले, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलले अमान्य भन्दै असहमति जनाउँदै आएका छन् । उनिहरुले काँग्रेसले आफ्नो पक्षमा रहेको भनेका दलहरुको उपस्थितीलेनै स्वयं कांग्रेसलाई एक्लो देखाएको दावी गरेका छन् ।

काँग्रेस नगरसभापति राजन मेहताले अघि सारेको प्रस्ताव उपर विमति जनाउँदै आएका एमाले, माओवादी सहितका दलका प्रतिनीधिहरुले काँग्रेसले आम नगरवासीको समून्नत हीतभन्दा पनि पार्टीगत स्वार्थ लाद्ने प्रयास गरेको आरोप लगाएका छन् । उनिहरुले नगरपालिकाका केही कर्मचारीहरुलाई साथमा लिएर आफुहरुलाई गुमराहमा राखी एकलौटी निर्णय लाद्ने प्रयास गरेको आरोप समेत लगाएकाछन् ।

सोही आरोप प्रत्यारोपकावीच बहुमत दलको निर्णय वेवास्ता गरी काँग्रेसले अघि सारेको निर्णयलाई अन्तिम रुपदिने नगरपालिका कर्मचारीको प्रयास विफल पार्न आफुहरुले उक्त माइन्युट च्यातिदिएको माओवादी केन्द्रका इनरुवा नगर इन्चार्ज ओके दाहालले बताए । उक्त निर्णयको विरुद्धमा रहेका एमाले, माओवादी केन्द्र सहितका दलले विज्ञप्ती जारी गर्दै मनोमानी तन्त्रको विरोध जनाएकाछन् ।

उता नेपाली काँग्रेस इनरुवा नगर सभापति राजन मेहताले समेत प्रेश विज्ञप्ती प्रकाशन गर्दै माइन्यूट च्यात्ने उपर तत्काल कार्वाहीको माग गरेका छन् । कार्वाही नभए आन्दोलनमा उत्रने चेतावनी सहितको ज्ञापन पत्रमा सर्वदलिय बैठकले निर्णय गरिसकेको विषयमा बखेडा झिक्ने काम भएको प्रति आक्रोस पोखिएको छ । छापामार शैलिमा माइन्यूट च्यातिएको विषय गम्भिर र गैर जिम्मेवारीपूर्ण कार्य भएको काँग्रेसको ठहर छ । कांग्रेसले आफ्नो साथमा नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम र तमलोपा रहेको जनाउँदै आएको छ ।

नगरसभापति मेहताले ४ र ६ नम्वर वडा समायोजन गर्ने, त्यसैगरी ३ र ५ लाई मिलाउने, १ र २ लाई मिलाउने, ७ र ८ त्यसैगरी ९ र १० लाई जोड्ने प्रस्ताव अघि सारेका थिए ।

उक्त प्रस्तावको विपक्षमा रहेका एमाले सहितका अन्य दलहरुले भने ६ र १ जोड्ने, ५ र ४ त्यसैगरी २ र ३ मिलाउने, ७ र ८ समायोजन गराउने र ९ र १० लाई एउटैमा गाभ्ने पुर्नसंरचना सहितको खाका पेश गरेका थिए ।

वडा समायोजनको विषयमा दलहरुवीच मतमतान्तर बढ्दै जाँदा नगरवासीभने सहमति कायम गरी छिटो उक्त विषय टुङ्गयाउनु पर्ने बताउँछन् । दलगत स्वार्थभन्दा माथि उठी समान विकास लक्षित योजनाको अवधारणा अनुसारको वडा समायोजनलाई मूर्त रुप दिनुपर्नेमा आम नगरवासी एकमत रहेको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया