१३ मंसिर, इटहरी । जोगबनी धरान ब्यापारिक सडक विस्तार एवम विकास आयोजना अन्तर्गत कोशी राजमार्गको तीनकुने हुँदै धनकुटे मार्ग भएर बाईपास सडक निर्माण हुने भएको छ । धरान ८ को भोटेपुलबाट पश्चिम धनकुटे रोड भएर ब्यापारिक सडक बाईपास भएर जाने भएपछि भोटेपुल उत्तरको बजार क्षेत्रका घरहरु नभत्कने भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सडक विभागका महानिर्देशकसँगको कुराकानी र छलफलबाट त्यस्तो निर्णय भएको हो ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मीनकुमार विश्वकर्माले धरानबासीलाई त्यस्तो सन्देश प्रवाह गर्नुहुँदै धरानबासीले चिन्ता लिएको सडक विस्तार आयोजनाले धरानका धरै घरहरु भत्कन सक्ने त्रास भने अव समाप्त भएको काङ्ग्रेस सुनसरी सचिव सुजेन्द्र तामाङले थप जानकारी दिनुभएको छ ।

सेउतीखोलाको तिरबाट धरान १५ हुँदै धनकुटे रोड भएर बाईपास सडक माथितिर जाने भएकाले सडक विस्तार आयोजनाबाट हुन सक्ने नोक्सानीबाट धरानबासीले थप राहतको अनुभूति गर्न पाउने अवस्था सिर्चना भएको पनि केन्द्रिय सदस्इ मीनकुमार विश्वकर्माले जानकारी दिनुभएको छ ।

यसैगरी धरान १७ मा निर्माणको प्रयास भई रहेको धरान एयरपोर्टका लागि पर्यटन तथा संस्कृतिमन्त्री जीवनबहादुर शाहीसँग ब्यापक छलफल भई त्यसका लागि मन्त्तालयले प्रारम्भिक कार्य अघि बढाउनका लागि २ करोड रकम उपलब्ध गराउने निर्णय समेत भई सकेको पनि केन्द्रिय सदस्य विश्वकर्माले बताउनुभएको छ । धरान बिमानस्थल निर्माणका लागि जग्गा अपुग भएको अवस्थामा धरान उपमहानगरपालिकाले थप जमिन उपलब्ध गराउने हालै धरानमा सरुवा भई आउनु भएका कार्यकारी अधिकृत बिष्णु कोईरालाले बचन दिनु भएको छ ।

तपाईको प्रतिक्रिया