१७ मंसिर, मोरङ । मोरङको सुन्दरदुलारी नगरपालिका स्थित गछिया खोलाको पुलमा ट्रक दुर्घटना हुँदा रातिदेखि विहान सम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । दुर्घटनामा परेको ना ४ ख २३०४ नम्बरको ट्रक सडकमै तेर्सिएपछि दुबैतर्फ सवारी आवागमन ठप्प भएको प्रहरिले जनाएको छ। राति साढे ११ बजेबाट विहान ६ बजे सम्म सवारी आवागमन प्रभावित बनेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।

क्रेन र जेसिभीको सहायताले नेपाल र सशस्त्र प्रहरीले विहान ६ बजे मात्र राजमार्ग सूचारु गर्न सफल भएको निरीक्षक थापाले बताए । विराटनगरबाट मैदा लोड गरेर झापातर्फ जाँदै गरेको ट्रक पुलको बारमा ठोक्किएर दुर्घटनामा परेको हो । अत्यधिक मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा कुनै मानविय क्षति नभए पनि राजमार्गमा सवारी आवगामन पूर्ण रुपमा प्रभावित बनेको थियो । ट्रकका चालक नरकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गर्न थापाले बताए।

तपाईको प्रतिक्रिया