aandolan rajbiraj patrakar sp
१८ मंसिर, राजकुमार पासवान सप्तरी । भारतीय पत्रकारलाई प्रवेश दिई नेपाली पत्रकारलाई कुट्ने सप्तरीका प्रहरी प्रमुख एसपी दिवेश लोहनीबिरुद्व सप्तरीका पत्रकारहरु आन्दोलित भएका छन् । गत मंसिर ११ गते योगगुरु रामदेव जिल्लाको छिन्नमस्ता आउँदा एसपी लोहनीले भारतीय पत्रकारलाई मन्दिरभित्र सहजै प्रवेश गर्न नदिई स्थानीय दुई जना पत्रकारलाई आफैं हातपात गरेका थिए ।

एसपीले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमिति सदस्य चन्दन यादव र रासस सम्वाददाता अरुण यादवलाई हातपात गर्दै अन्य पत्रकारसँग समेत दुव्र्यबहार गरेका थिए । घट्नाको बारेमा स्थानीय प्रशासन मार्फत उपप्रधान एवं गृहमन्त्रीलाई ज्ञापन पठाउँदै एसपी लोहनीको सरुवा गर्न ४८ घण्टाको अल्टिमेटम दिएपनि कसैले कुनै किसिमको चासो नलिँदा पत्रकारहरु आन्दोलित भएका हुन् ।

एसपी लोहनीको सरुवाको माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा शुक्रबार बिहान निकालिएको पत्रकारहरुको बिरोध जुलुस राजविराज नगरको परिक्रमा गरेको छ । टाउकोमा कालोपट्टी बाँधेका पत्रकारहरुले पत्रकार कुट्ने एसपी लोहनीलाई सरुवा गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर जस्ता नारा लगाएका थिए ।

रुपनी मोडबाट निकालिएको पत्रकारहरुको बिरोध र्याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै स्थानीय शिब मन्दिर प्राङ्गणमा समापन भएको थियो । त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देवले एसपीको सरुवा नभएसम्म आन्दोलन जारी रहने बताए ।

पत्रकारहरुले शनिबार राजविराजमा प्लेकार्डसहित प्रदर्शन गर्ने भएका छन् भने आईतबार बिहान मैनबत्ति जुलुस प्रदर्शन गरी पेशागत संघ–संगठनसँग अन्त्रकृया गर्ने तय गरेको छ । नेपाल पत्रकार महासंघ सप्तरीको शुक्रबार बिहान बसेको बृहत बैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेको हो ।

तपाईको प्रतिक्रिया