२२ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा सोमबार देखि जारी पुर्वाञ्चल क्षेत्रिय महिला भलिबल छनौट प्रतियोगिताको फाईनलमा मोरङ र संखुवासभा विच प्रतिस्पर्धा हुने भएको छ । आज भएको सेमिफाईन अन्तरगतको खेलमा मोरङले सुनसरीलाई २५–१९ र २५–१८ को सोझो सेटमा पराजित गर्दै फाईनलमा संखुवासभा संगको भिडन्तलाई पक्का गरेको हो भने संखुवासभाले ओखलढुङगालाई २५–८ र २५–२० ले पछि पादै फाईनल भिडन्तका लागि स्थान सुरक्षित गरेको हो ।

यता ओखलढुंगाले तेश्रो स्थानका लागि विहिवार सुनसरी संग भिड्ने छ । क्वाटर फाईनलमा ओखलढुङगाले खोटाङलाई, संखुवासभाले सोलुुखुम्बुुलाई, सुनसरीले उदयपुरलाई र मोरङले पांचथरलाई हराएका थिए । यि मध्ये सुनसरी र उदयपुरको भिडन्त बाहेक सबैमा बिजयीले सोझो सेटको नतिजा दिलाएका थिए । जिल्ला खेलकुद विकास समितिले तेस्रो स्थानको भिडन्त बिहिवार बिहान ८ बजे र फाईनल खेल दिनको ११ बजे हुने बताएकोे छ ।

यता बुधवार देखिनै भानुुजन उच्च माविको खेल मैदानमा सुरु भएका खेलकुद प्रतियोगिता सहितका सास्कृतिक कार्यक्रमको संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले उद्घाटन गर्नु भएको छ ।

लिम्बु समुदायको चासोक तङनाम (न्वागी खाने) पर्वको अवसरमा श्रीजंघा च्यालेञ्ज रनिङकप पुरुष फुुटबल प्रतियोगिता सहितका आधा दर्जन बढी खेलकुद प्रतियोगिता हुने छन् । फुटबल प्रतियोगिताको बिजेता टीमले पाउने १ लाख ११ हजार १ सय ११ रुपैंया, उप बिजेता टीमले ५५ हजार ५ सय ५५ रुपैैया पाउने छ । यस्तै महिला तर्फको फुटबल खेल समेत आयोजना गरिएको छ । यस प्रतियोगिताको विजेताले नगद ३५ हजार र उपविजेताले २५ हजार पुरस्कार पाउने जनाईएको छ । चासोक तङ्नामका अवसरमा आयोजित सम्पुर्ण कार्यक्रमको मंसिर २८ गते समापन गरिने बताईएको छ ।

तपाईको प्रतिक्रिया