itahari audhogik mela२२ मंसीर, इटहरी। प्रदेश नम्वर १ को केन्द्र इटहरीमा मंसीर २२ देखि २६ गते सम्म चल्ने पाँच दिने लघु उद्योगबाट उत्पादिन प्रदेश १ स्तरीय लघु,घरेलु तथा साना उद्योगको  औद्योगिक प्रदर्शनी २०७३को लघुबित्त महासङ्घ केन्द्रिय अध्यक्ष श्याम कुमार गिरीले उद्घाटन गरेका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरी, उद्योग बाणिज्य सङ्घ सुनसरी इटहरी  जिल्ला लघु उद्यमी सङ्घ सुनसरीको आयोजना तथा जिल्ला विकास समिति सुनसरी घरेलु तथा साना उद्योग कार्यालय इटहरी सुनसरी तथा इटहरी धरान उपमहानगरपालिका लगायतको सहयोगमा उक्त औद्योगिक प्रदर्शनी मेला आयोजना गरिएको हो  ।

प्रदेश नम्वर १ को तराई तथा पहाडी जिल्लाहरुमा उत्पादन हुँदै आएका महत्वपूर्ण लघु घरेलु उत्पादनका सामग्रीहरुको मेलामा सघन सहभागिता गराईने औद्योगिक प्रदर्शनी  मेला अन्तर्गत सुनसरीको पटेर झल्ला, झापाको पेटानी, इलामको चिया अलैची,लालीपप ताप्लेजुङको गलैचा खाँडी कपडा धनकुटाको बाँस हस्तकला र फलफूल भोजपुरको खुकुरी र करुवा, तेह्रथुमको ढाका संखुवासभाको अल्लो राडीपाखी लगायतका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ ।

घरेलु तथा साना उद्योगका प्रचुर दर्ता र हजारौ मानिसले रोजगार प्राप्त गरिरहेको औद्योगिक सघनता रहेको सुनसरी  जिल्लाका उद्यमीहरुले प्रयाप्त रुपमा बजार पाईरहेको अवस्था नरहेकाले त्यसको प्रवर्धन गर्न पनि यो प्रदर्शनी मेला निकै सहयोगी हुने विश्वास गरिएको छ ।१३ लाख रुपियाँ खर्च हुने प्रदर्शनी मेलामा ६० वटा स्टलहरु रहेको र प्रदर्शनी अवधिमा २० हजार मानिसले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गर्ने तथा त्यस अवधिमा कम्तिमा पनि १ करोड बढिको आर्थिक कारोवार हुने अनुमान गरेको छ ।राजेन्द्रकेशरी घिमिरेको अध्यक्षतामा उद्घाटन भएको मेलामा सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकराज पौडेल,भगवती चौधरी,अर्जुन निरौला लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया