earthquick machine

काठमाडौं । भूकम्पको क्षति गर्ने प्रविधिमा नेपाली बैज्ञानिकलाई ठूलो सफलता हात परेको छ । ढुंगाको घेराबन्दीमार्फत भूकम्पका कारण भवन भत्किएर हुन सक्ने क्षतिको जोखिमलाई न्यूनिकरण गर्ने प्रविधिको विकास भएको छ । यस प्रविधिलाई नेपाली वैज्ञानिकको ठूलो सफलताको रुपमा हेरिएको छ । यो अहिलेसम्म कुनै पनि देशमा प्रयोगमा नआएको नविनतम प्रविधि भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले जनाएको छ । नाष्टका अनुसार भूकम्पको जोखिमलाई आधा कम गराउने गरी सजिलो प्रविधिको विकास गरेको छ ।

परीक्षणबाट यो प्रविधिको प्रयोगले भूकम्पका कारण जमीन हल्लिने मात्रा (इन्टेन्सिटी) लाई आधा कम गरिदिने पुष्टि भएको छ । नाष्टका उपकुलपति डा. जीवराज पोखरेलले विकास गरेको प्रविधिलाई अमेरिकी भुगर्भशास्त्रीको संस्था युएसजीएसले पनि चासोका साथ हेरेको छ । युएसजीएसको टोलीले नै यो प्रविधिमाथि थप अनुसन्धान गरेर निश्कर्षमा पु¥याउन नाष्टलाई हौसाएको छ ।

यस्तो हो यो नेपाली वैज्ञानिकले विकास गरेको प्रविधिः
नाष्टको खुमलटारस्थित कार्यालय हाताभित्र अहिले यो प्रविधिमाथि अनुसन्धान भइरहेको छ । यसका लागि खुला चौरमा एउटा घर बन्न पुग्ने जग्गा छुट्याइएको छ ।

सो जग्गालाई घेरेर चारैतिरबाट जग खने जसरी २ मिटर गहिरो र १.५ मिटर फराकिलो खाल्डो बनाइएको छ । यसमा गोला आकारका ढुंगाहरु राखेर भरिएको छ । यसलाई माथिबाट नपुरी त्यतिकै छोडिएको छ । यति गर्दा नै भूकम्पको आधा जोखिम कम हुने दाबी नेपाली वैज्ञानिकहरुको छ ।

अहिलेसम्म यसको परीक्षणले दिएको नतिजा उत्साहजनक रहेको नाष्टका टेक्निकल अफिसर रोशन पाण्डे बताले बताए । उनकाअनुसार भूकम्पको जोखिम कम हुने कुरा नाष्टले बिनाआधार भनिरहेको छैन । यसमा विभिन्न प्राविधिक आधारहरु छन् ।

ढुंगाले घेरिएको जग्गाभित्र एउटा ड्रममा भूकम्पको तरंग नाप्ने सिस्मोमिटरसहितका उपकरण जडान गरिएको छ । घेराबन्दी गरिएको क्षेत्रभन्दा बाहिर पनि यस्तै ड्रममा अर्को भूकम्प र त्यसको इन्टेन्सिटी नाप्ने यन्त्र राखिएको छ ।

नाष्टले बेला–बेलामा भूकम्प तथा पराकम्पन आउँदा यि दुई ड्रमभित्रका उपकरणमा रेकर्ड भएका डाटाका आधारमा अनुसन्धानमाथि विश्लेषण गरिरहेको छ । तर, थोरै दुरीमा रहे पनि यी दुईभित्रका उपकरणले भूकम्पको रेक्टर स्केल र इन्टेन्सिटी फरक देखाइरहेका छन् । कारण, त्यही ढुंगाले गरिएको घेराबन्दी नै हो ।

भूकम्प गएका समयमा रेकर्ड भएका डाटाले देखाइरहेको छ कि ढुंगाले घेरिएको क्षेत्रभित्र बाहिरको भन्दा भूकम्पको धक्का आधा कम हुन्छ । अर्थात ढुंगाले घेरिएको क्षेत्र त्यसभन्दा बाहिरको तुलनामा झण्डै आधा कम हल्लिने पुष्टि तिनै यन्त्रले गरिसकेका छन् ।

खाल्डो बनाएर हालिएको ढुंगा गोला हुन्छन् । यि ढुंगालाई एकअर्कासँग माटोको जोडाइले नसमातोस भनेर प्लाष्टिक बिछ्याइएको हो । सर्फेस अर्थात सतहीरुपमा आएको भूकम्प बढी खतरनाक र जोखियुक्त हुने भएकाले ढुंगाको घेराबन्दीलाई त्यसैविरुद्ध प्रयोग गरिएको हो ।भूकम्प आउँदा तरंगको गति जब यी ढुंगामा पर्छ, यी एकअर्कामा कसिलोरुपमा नबाँधिएका कारण भूकम्पलाई नै प्रभावित गरिदिन्छ । आवाजको मात्रालाई कुनै अवरोधक वस्तु लगाएर कम गरेजस्तै भूकम्पका तरंगलाई पनि ढुंगा लगाएर कम गरिएको हो ।

यसमा ढुंगालाई बीचमा नजोडिनुको पछाडि पनि केही प्राविधिक कारण छन् । ढुंगा जोडिए भने कम्पन एकनासले प्रवाह हुनसक्छ । त्यसैले यसमा माटो पस्न नदिन प्लाष्टिक प्रयोग गरिएको हो । ढुंगाबीचका ‘ग्याप’ले भूकम्पको तरंगलाई आधा कमजोर र निश्प्रभावी बनाइदिन्छन् । लगातार सतहमा बहिरहेको भूकम्पको तरंगलाई घेरबन्दी गरिएका नमिलेका ढुंगाहरुले केही हदसम्म रोकिदिन्छन् र भित्र जमिनको हल्लिने मात्रा नै कम भइदिन्छ ।

तपाईको प्रतिक्रिया