fire-in-solukhumbu२३ मंसिर,सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा कारागार नजिक आगलागी हुँदा तीन घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । आगलागीबाट जोडिएर रहेका विराज तामाङ, चन्द्रकला राई र सरन राईको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट करिब दुई करोड रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तीन तलाको पक्की घर, पसल तथा होटलका सबै सामान र घरमा भाडामा बसेकाहरुको सामान पुरै जलेर नष्ट भएको पारिवारिक स्रोतले जनाएको छ । सल्लाको काठबाट निर्माण भएकाले आगो शुरु हुनसाथ नियन्त्रण बाहिर गएको हो । सबैको सक्रियतामा आसपासका घर जोगिएका छन् ।

दिउँसो करिब साँढे तीन बजे शुरु भएको आगो दुई करिब घण्टामा स्थानीय, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा साँझमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय तथा पशुधनको क्षति भएको छैन भने आगलागीको कारण खुल्न सकेको छैन ।

सदरमुकाम सल्लेरीमा प्रत्येक वर्ष आगलागी भइरहेको छ भने यस वर्ष दुई पटक आगलागी भइसकेको छ । बाक्लो बस्ती तथा सल्लाको काठको घर भएकाले आगलागीको जोखिम बढी भएको बताइएको छ । एक महिनाअघि मात्र एक घर जलेर नष्ट भएको थियो ।टिभी अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया