३० मंसिर, इटहरी। पूर्वाञ्चलमा यही पुष ८ देखि १५ सम्म आयोजना हुने राष्ट्रिय खेलकुद संस्करणका लागि पूर्वका खेल हुने स्थानहरुमा राखिने मस्कट मोडल प्रतिक तयार पारेर सार्वजनिक गरिएको छ । पूर्वी नेपालको पर्यटकीयस्थल कोशीटप्पु वन्यजन्तु आरक्षमामात्र पाइने अर्नाको प्रचारप्रसार गर्ने उद्देश्य राखेर मस्कटको टाउँको अर्ना र जीउ खेलाडीको बनाएर मस्कट तयार भएको सार्वजनिक भएको हो । मस्कट राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशबकुमार बिष्टकै परिकल्पना अनुसार तयार गरिएको हो । मस्कटको रंगरोगन सकिएर अब तोकिएको स्थानमा राख्ने तयारी पनि पुरा भई सकेको बताईएको छ ।

राष्ट्रिय खेलकुदका लागि पूर्वको इटहरी, धरान, विराटनगर र झापाको भद्रपुरमा राख्नका लागि पाँच फिट अग्लो फाइवरको मस्कट तयार गरिएको बताईएको छ । तयार भएका ठूला चार मस्कटमध्ये इटहरीमा एथलेटिक्स खेल, धरानमा फुटबल खेल, विराटनगरमा ओलम्पिक टर्च बोेकेको र झापाको भद्रपुरमा बक्सिङ् खेलेको तथा टाउँको भने अर्नाको मस्कट राखिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशबकुमार बिष्टले बताउनु भएको छ  ।

भद्रकाली कला केन्द्र इटहरीका कलाकार अभिषेक तिम्सिनाको नेतृत्वमा कलाकार टीका पौडेल, गोपाल चौलागाई, विन्दु चौधरी, श्याम पण्डित, सोना पाल र भोला तिम्सिनाको टोलीले एक महिना लगाएर ठूला फाइवरका मस्कटसँगै १५ वटा माटोका मझौला खालका मस्कटहरु पनि  तयार गरिएको  छ। मझौला मस्कटहरु सातौं खेल हुने पूर्वका स्थानमा अस्थायी रुपमा राखिनेछ । मस्कट निर्माणमा खटिएका तिम्सिनाले राष्ट्रिय खेलकुदको उद्घाटन र समापनका क्रममा झाकीसँगै ¥याली प्रदर्शनका लागि १६ वटा अलग मस्कट तयार गरिएको छ ।

तपाईको प्रतिक्रिया