३० मंसिर, सप्तरी। बालकलाई अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । सप्तरी जिल्लाको पश्चिमी गाविस हरिपुर ३ का रामगोविन्द साहका ८ वर्षीय छोरा दुर्गानन्दको अपहरणको २० दिनपछि प्रहरीले शव शौचालयको सेफटी टयाङकबाट बरामद गरेको छ ।
पक्राउ पर्नेमा साहका छिमेकी २७ वर्षिय चुडामणि ठाकुर, सोही गाविस वडा नम्बर १ बस्ने १९ वर्षिय रामबाबु गुप्ता साह र देउरी गाविस २ बस्ने २२ वर्षिय कपिलदेव दासलाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो ।
छिमेकी चुडामणिले बालकलाई खरायो देखाइदिने भन्दै मंसिर ११ गते साँझ सात बजेतिर सडकबाट अपहरण गरेका थिए । अपहरित बालकलाई अपहरणकारीले हत्या गरेर साह कै छिमेकी पन्नेलाल साहको शौचालयको सेफ्टीट्याङ भित्र फालेको थिए ।
सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीका अनुसार बालक अपहरणको ६ दिन पश्चात अपहरणकारीले बालकका आमा ममता देवी साहलाई पाँच लाख रकम फिरौती माग गरेका थिए । उनीहरुले सो रकम नदिएमा बालकको हत्या गर्ने धम्कीपूर्ण एसएमसए पठाएका थिए । तर अपहरकारीले म्यासेज पठाउन अघि नै बालकको हत्या गरेका थिए ।
प्रहरीले कल डिटेल र आधुनिक प्रविधीको प्रयोग गरी अपहरणकारी पक्राउ गरेको जनाएको छ । उपरीक्षक लोहनीले बिहिबार आयोजनागरिएको पत्रकार सम्मेलनमा पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको जानकारी दिए ।