dharan boxing selection sunsari१ पौष, धरान। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ पुष ८ देखि १५ गतेसम्म हुने भएको छ । प्रतियोगितामा सुनसरीका बक्सिङ खेलाडीहरु छनौट भएका छन् । मंसिर ३० गते इटहरीमा भएको पूर्वाञ्चल छनौट प्रतियोगितामा ९ जना खेलाडीले सुवर्ण पदक प्राप्त गरेका छन् ।

खेलाडीहरुको मनोबल बढाउनका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुले ट्रयाक्सुट , टिसर्ट खाद्यान्न लगायतका सामग्री दिएर हौसला दिएका छन् । खेलमा सफलता हात पारेपछि धरानमा पुष १ गते एक कार्यक्रम गरी बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको केटिएम सेक्यूरीटी सर्भिस प्रा.लि.ले १२ थान ट्याक्सुट प्रदान गरेको छ । प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा खेलाडीलाई १ महिना सम्म डाइड प्रदान गर्ने बराह ज्वेलरीलाई सुनसरी जिल्ला बक्सिङ संघले सम्मान गरेको छ ।

कार्यक्रममा सुनसरी जिल्ला खेदकुद विकास समितिका अध्यक्ष धनप्रसाद राई, बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का शाखा उपप्रमुख पुर्णकुमार कालिकोटे, केटिएम सेक्यूरीटी सर्भिस प्रा.लि.का पूर्वाञ्चल प्रमुख रुपमकुमार लामा लगायतको उपस्थिति रहेको थियो । संघका अध्यक्ष विकास कुमार गुभाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष निमा तामालङले गरेका थिए ।


त्यसैगरी मंसिर २६ गते धरानमा एक कार्यक्रमको आयोजना गरी सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता –२०७३ का लागि पुर्वाञ्चल क्षेत्रीय बक्सिङ प्रतियोगितामा सहभागि भएका सुनसरीका १० जना खेलाडीहरुलाई सुनसरी क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार राईले टि–सर्ट दिएर हौसला प्रदान गरेका छन् । सुनसरी जिल्ला बक्सिङ्ग संघले धरान–९ स्थित कभर्डहल बाहिर प्राङगढमा कार्यक्रमको आयोजना गरी सांसद राईले प्रत्येक खेलाडीलाई टिसर्ट प्रदान गरेका हुन् ।

उनले खेलाडीहरुले सुनसरीको इज्जत बढाउन सकून भनेर हौसलाका लागि प्रदान गरेको बताए । उक्त कार्यक्रममा सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राई, निवर्तमान अध्यक्ष नरेन्द्र चोङवाङ, बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष नरेन्द्र पोमो लगायतले बोलेका थिए । सांसद राईले आफ्नो निर्वाचन क्षेत्रका खेलाडीहरुलाई हौसला प्रदान गरेकोमा बधाई दिँदै थप योजना र सहयोगको माग गरेका छन् । कार्यक्रममा कलाकार भुवन सुप्तिहाङको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया