०२ पुष, राजविराज दिलिप  साह।‘सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा भन्ने मूल नाराका साथ ५० हप्ते सरसफाई अभियानको शुभारम्भ गरेका सप्तरीका युवाहरु १६ हप्ता सफलतापूर्वक सरसफाई गरेका छन् । अभियानको १६ औं हप्ता सदरमुकाम राजविराजको दुई ठाउँमा सरसफाई गरिएको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित शान्ति टोल र राजविराज रंगशालामा सरसफाई गरिएको छ ।

शान्ति टोलको बिभिन्न ठाउँमा थुप्रिएको फोहोर युवाहरुले सफा गरेका छन् । सरसफाई गर्ने क्रममा आगामी दिनमा फोहोर नगर्न स्थानीयहरुलाई सचेत समेत गराइएको छ । अब जसको घर अगाडि फोहोर पाए उसैको घरमा फोहोर राखिदिने चेतावनी युवाहरुले दिएका छन् । सरसफाई गर्दा काँग्रेसका जिल्ला सचिव रामकुमार यादव, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत धिरेन्द्र प्रसाद यादवसहितकाले सहभागिता जनाएका थिए ।

यस्तै युवाहरुले राजविराजको रंगशालामा पनि सरसफाई गरेका छन् । राजविराजमा हालै भएको महोत्सवका कारण फोहोर बनेको रंगशालालाई युवाहरुले सफा गरेका हुन् । यो सरसफाईमा जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनी र डिएसपी दानबहादुर कार्कीले समेत सहभागिता जनाएका थिए । रंगशालामा रहेका अरु फोहोर पनि हटाइने युवाहरुले बताएका छन् । सप्तरी युथ नेपालद्वारा ५० हप्ते सरसफाई अभियान प्रारम्भ गरिएको छ ।

तपाईको प्रतिक्रिया