Caring-for-Glasses chasma

रवीन्द्र अधिकारी, दृष्टि विशेषज्ञ रेयुकाइ आँखा अस्पातल

दृष्टि दोष भएका मानिसलाई संसार चिहाउन दिने ऐना हो, चस्मा । तर, चस्माको यथोचित हेरचाह गर्न नसक्दा चाँडै नै बिग्रिने, कोरिने तथा फुट्ने हुन्छ । जसले गर्दा अनावश्यक रूपमा चस्मा कम्पनी, चस्मा पसले वा हस्पिटललाई नक्कली चस्मा भिडाएको भनेर आरोप पनि लगाइन्छ । हुन त चस्मा सबै सक्कली नै हुन्छन् भन्ने पनि हुँदैन । तर, राम्रो हेरचाह गरेमा  एउटा चस्माले पक्कै पनि लामो समयसम्म काम गर्न सक्छ । चस्माको सही तरिकाले केयर गर्ने विधिबारे यहाँ केही चर्चा गरिएको छ ।

१. लगाएको चस्मा फुकाल्दा पनि एकदम होस पुर्‍याउनुपर्छ ।  चस्मा एउटा हातले एकातिरबाट मात्र फुकाल्नु हुँदैन । यसले चस्माको अगाडिको मुख्य भाग (फ्रेम) र खुट्टा (टेम्पल) जोड्ने मिलनबिन्दुमा एकतर्फी दबाब पर्ने हुनाले चाँडै भाँचिने वा स्प्रिङ खुस्किने हुन सक्छ । साथै चस्मा लगाउँदा पनि सधैँ दुवै हातले सन्तुलित बल प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।

२. फेसन या स्टाइलका लागि पावरवाला चस्मा निधारमाथि वा कपालमा राख्नु हुँदैन । यस्तो बानीले चस्माको फ्रेम खुकुलो बनाउँछ । जसले गर्दा साविकझैँ लगाउँदा खस्ने डर हुन्छ ।

३. सिसाको लेन्स छ भने सानातिना ठक्करले पनि लेन्स चर्किन सक्छ । त्यसैले सकेसम्म चस्मा फुकाल्नु हुँदैन । चस्मा फुकाल्दा पनि विशेष जतन गरेर त्यसको कभरमा राखिहाल्नुपर्छ ।

४. चस्मा निकालेर टेबल वा कडा सतहमा राख्दा लेन्सतिर नभई टेम्पलले टेबलमा छुने गरी राख्नुपर्छ । लेन्सतिर फर्काएर राख्दा लेन्स घोटिएर कोरिने सम्भावना हुन्छ । जसले गर्दा चस्माको लेन्स धमिलो हुन सक्छ ।

५. लामो समयसम्म चस्मा खोल्नुपरेमा चस्माको खोल वा बट्टामा राख्ने गर्नुपर्छ ।

६. थ्री पिस चस्मा छ भने समय–समयमा फ्रेम खुकुलो भइरहन सक्छ । त्यसैले चस्मा किन्दा नै यसलाई मिल्ने पेच कस्ने स्क्रुु ड्राइबर पनि खरिद गर्दा राम्रो हुन्छ ।

७. चस्मा सफा गर्न माइक्रो फाइबर रुमाल प्रयोग गर्नुपर्छ । अन्य खस्रो कपडाले चस्मा पुछ्दा राम्ररी सफा नहुने तथा चस्मा कोरिने सम्भावना हुन सक्छ ।

८. चस्मा सफा गर्न नरम साबुन वा हल्का तातो पानी प्रयोग गर्न सकिन्छ । लेन्स क्लिनर केमिकल प्रयोग गरे झनै राम्रो ।

९. नोज प्याड सफा गर्दा नरम ब्रस प्रयोग गर्न सकिन्छ । चस्मा सफा गर्ने अल्ट्रा सोनिक तरंगको उपयोग गर्ने मेसिनको पनि सहायता लिन सकिन्छ । यसले भौतिक बल प्रयोग नगरिकनै केही मिनेटमा सबै फोहोर चस्माबाट हटाइदिन्छ । यस्तो मेसिनले चस्माको सुरुवाती चमक फर्काउँछ ।

१०. प्राय लेन्स वा फ्रेम ८० डिग्री फरेनहाइटभन्दा बढीको तापक्रमले बिग्रिने हुन्छ । यस्तो भएमा चस्माको आकार बिग्रिने, लुज हुने, रङ खुइलिने वा कोटिङ खुइलिने हुन्छ । तसर्थ उच्च तापक्रम तलमाथि भइरहने स्थानमा सकेसम्म चस्मालाई जोगाउनुपर्छ ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया