०८ पुस, राजविराज दिलिप साह। देउरी भरुवा गाविस–५ की १५ वर्षीया बालिका र सुनसरी अर्नामा गाविसका २० वर्षीय मो. आरिफ मन्सुरीबीच हुन लागेको बालविवाह महिला बालबालिका सेवा केन्द्र र इन्सेकको पहलमा ०७३ पुस ८ गते रोकिएको छ । कक्षा ७ मा अध्ययनरत बालिकाको विवाह पुस १४ गते निश्चित भएको भन्ने जानकारी पुस ७ गते प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको सहयोगमा बालिका र निजकी आमालाई पुस ८ गते नियन्त्रणमा लिईएको थियो ।

बालिका र उनका परिवारका सदस्यहरुलाई बालविवाहले पार्ने असर र कानुनी प्रावधानबारे जानकारी दिदै मनोविमर्श गरेपछि उनीहरु विवाह स्थगित गर्ने निष्कर्षमा पुगेको डिएसपी दानबहादुर कार्कीले बताए । बालिकासँग विवाह गर्न तयार युवकलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको र उ नआउन्जेल सम्मका लागि बालिकाकी आमालाई दैनिक हाजिरमा राखिएको डिएसपी कार्कीले बताए । बालिकाका बुवा वैदेशिक रोजगारमा सउदी अरबमा कार्यरत छन् । बालिकाकी जेठी दिदीको विवाह भइसकेको छ भने उनीभन्दा मुनी तीन बहिनी र एक भाई छन् ।

तपाईको प्रतिक्रिया