९ पुष, इटहरी। सातौं राष्ट्रिय खेलकुद प्रतियोगितको एथलेटिक्स तर्फको पहिलो स्वर्ण धावक हरिकुमार रिमालले जितेका छन् । शनिबार इटहरीको ट्रयाक एण्ड फिल्डमा भएको पुरुषतर्फको दौडमा रिमालले १५ सय मिटरको दुरी ४ मिनेट ४ सेकेण्डमा पार गरेर उपाधि हात पारेका हुन् । रिमाल नेपाली सेनाका धावक हुन् ।

१३ धावक सहभागी खेलमा नेपाली सेनाकै अर्का धावक छत्रबहादुर दाहालले रजत पदक जिते । त्यस्तै नेपाल पुलिसका तर्फबाट करण खड्काले कास्य पदक हात पारेका छन् ।

यसैगरी महिलातर्फ १५ सय मिटर दौडमा सेनाकै सरस्वति भट्टराईले बाजी मारिन् । उनी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदत जित्ने पहिलो महिला हुन् । उनले निर्धारित दुरी ४ मिनेट ४३ सेकेण्डमा पार गरिन् ।

सरस्वति ५ वर्षअघि सुदूरपश्चिमाञ्चलमा भएको प्रतियोगितामा घरेलु टोलीका तर्फबाट सहभागी भएकी थिइन् । त्यतिबेला चौथो भएकी उनी तीन वर्षअघि नेपाली सेनामा भर्ना भएकी हुन् । उनी ब्राजिलको रियो द जेनेरियोमा भएको ओलम्पिकमा समेत सहभागी भइसकेकी छिन् ।

 

तपाईको प्रतिक्रिया