११ पौष, ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट दुई लाख २१ हजार रुपैँया रकम चोरी भएको छ । तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको समितिका सह सचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मन्दिर परिसरमा रहेको पुजारीका लागि बनाईएको पुरानो भवनको भित्री भागको सिलिङबाट कोठामा प्रबेश गरी लकर फोरेर उक्त रकम चोरी भएको उहाँले बताउनु भयो । काफ्लेका अनुसार सदरमुकाममा रहेको संस्थाको खातामा रकम जम्मा गर्न तयारी स्वरुप गनेर राखिएको रकम चोरी भएको हो । चोरी भएको मध्ये मोटो रकम पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समितिका आजीवन र बिशिष्ट सदस्यले दिएको सहयोग रहेको र वाँकी मन्दिरका तिर्थालुुले चढाएको दान रकम रहेको काफ्लेले जानकारी दिनुभयो ।

यसैबिच प्रहरीले नेपाली र भारतीय गरी १ लाख ३१ हजार ३ सय ५५ रुपैँया र एक सय अमेरिकन डलर सहित लिङ्खिम गाविस घर भएका ११ बर्षिय सागर लिम्बुुलाई पक्राउ गरेको छ । ताप्लेजुङका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक रामबहादुर केसीका अनुसार बोरामा हालेर खाल्डो खनी गाड्दै गरेको अवस्थामा सागरलाई पैसा सहित नियन्त्रणमा लिईएको हो । केसीले पक्राउ परेका सागरको बयानका आधारमा यो घटनामा नाल्वो घर भई लिङ्खिम स्थित मामा घरमा बस्दै आएका १४ बर्षिय रमेश नाल्वो र लिङ्खिमनै घर भएका अन्दाजी १४ बर्षिय मोहन लिम्बुको समेत संलग्नता देखिएकोले उनीहरुको खोजी कार्य जारी रहेको बताउनुभयो ।

यता प्रमुुख जिल्ला अधिकारी नरबहादुर खड्काले यो घटनाका बारेमा पाथीभराको विकासमा क्रियाशिल पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समिति र पाथीभरा क्षेत्र विकास समिति संग छलफल गर्ने प्रतिक्रिया दिनुभयो । संरक्षण तथा संर्बद्धन समिति जनस्तरबाट गठित पाथीभराको विकासमा क्रियाशिल संस्था हो भने क्षेत्र विकास समिति सरकारी स्तरको समिति हो ।

तपाईको प्रतिक्रिया