duhabi hatya kand press conference

२६ पुष, दुहबी । गत पुष १४ गते दुहवीको मनास्लु बोर्डिङ्गमा मृत भेटिएकी सोही बोर्डिङ्गमा कार्यरत ३५ बर्षीया पवित्रा बिष्टको हत्या बोर्डिङ्ग सञ्चालक शङ्कर थापावाट नै भएको अभियोग तयार पार्ने कार्यमा प्रहरीले सक्रियता बढाएपछि दुहवीवासीले त्यसको पुष्टि गर्न चुनौति दिँदै निर्दोषलाई फसाउने कार्य भए त्यसको कडा विरोध गर्ने चेतावनी दिएका छन । हजारौ दुहवीवासीले प्रहरीको यो हरकतलाई अमानवीय कार्य भनेका छन ।


दुहवीको साह सेवा समितिको सभाकक्षमा नागरिक समाज दुहवीले पत्रकार सम्मेलन गरी बोर्डिङ्ग सञ्चालक थापा मर्निङ्गवाक सिध्याएर बोर्डिङ्गमा फर्केर माथि चढ्ने क्रममा भवनको अध्यारो ठाउँमा केही बस्तुसँग ठोकिदा बत्ती बालेर हेर्दा आफ्नै बोर्डिङ्गमा काम गर्ने पवित्रा मृत देखेपछि तत्काल प्रहरी र छिमेकीहरुलाई स्वयम थापाले नै खवर गरेका थिए ।

पत्रकार सम्मेलनमा थापाको श्रीमती सावरा थापा र छोरी डा. सदिच्छा थापाले यस्तो घट्ना शङ्कर थापाबाट हुनै नसक्ने जिकिर पनि गर्नुभएको छ । त्यस अवसरमा दीपक राईले प्रहरीले साँघुरो घेरामा बसेर गरिरहेको अनुसन्धान एक पक्षीय भएको दावी समेत गर्नुभएको छ । त्यस अवसरमा काङ्ग्रेस नेता अब्दुल हाजी मियाँले प्रहरीले यस विषयमा गम्भीर त्रुटी गरिरहेको बताउनुभयो ।

बोर्डिङ्ग र आवास समेत भएको भवनको माथिल्लो कोठामा २ लाखभन्दा बढिको नगद एवम सर सामान र राहदानी समेत हराएकाले पवित्राको कसैले चोरी गर्ने क्रममा हत्या गरेको हुन सक्ने तर्फ प्रहरीले अनुसन्धान नथाली जसले घट्नाको जानकारी गरायो त्यही मानिसलाई जबरजस्ती फसाउने प्रपञ्च प्रहरीबाट भई रहेको तर्फ दुहवीको नागरिक समाजले आक्रोस पोखेको हो ।

प्रहरीले सहमतिमा नै सोधखोज र घट्नाका विषयमा जानकारी लिनका लागि लगेको सामुदायिक सेवा मञ्चको अध्यक्ष समेत रहनु भएको थापालाई दुई दिनसम्म आफन्त र छिमेकीहरुलाई समेत सम्पर्क हुन नदिई विभिन्न स्थानमा प्रहरीले गाडीमा राखेर घुमाई हत्या आफैले गरेको हो भन्न लगाउने जस्ता घृणित कार्य प्रहरीबाट भएको तर्फ पनि दुहवी नागरिक समाजले आपत्ती भनेको छ ।

विरामी अवस्थाका थापालाई अदालतले समेत नजिकको अस्पतालमा उपचार गर्न दिनु भन्ने आदेशको समेत प्रहरीले उलङ्घन गर्दै आएको तथा पीडितका तर्फबाट जाहेरी समेत नपरेको अवस्थामा प्रहरी आफैले थापा विरुद्ध किटानी जाहेर दिन दवाव दिने गरेको कुरा समेत दुहवी नागरिक समाजले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । दुहवी नागरिक समाजले प्रहरीले घट्नाको सत्य तथ्य खोजी गरी कार्वाही गर्नेतिर नलागेकोमा पनि दुहवीबासीले आश्चर्य मानेको छ । दुहवीबासीले सत्यको खोजी नभए कडा आन्दोलन गर्ने र प्रहरीसँग दुहवीवासीले असहयोग नीति लिने चेतावनी पनि दिएको छ ।

 

तपाईको प्रतिक्रिया