२७ पुस, काठमाण्डु, । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले राजगद्धी त्यागे पनि मुलुकप्रतिको जिम्मेवारी नत्यागेको बताएका छन् । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर नारायणहिटी छाडेको, तर मुलुकप्रतिको जिम्मेवारी नछाडेको उल्लेख गरेका छन् ।

‘नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौं’, ज्ञानेन्द्रले भनेका छन्, ‘तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं ।’ उनले आफूले गद्धी त्यागेको एक दसक नबित्दै मुलुक नै नरहने हो कि भन्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । साथै उनले देशलाई कसैको क्रिडास्थल बन्न नदिने बताएका छन् ।

‘दशक नबित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं’, उनले भनेका छन्, ‘देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन ।’ ज्ञानेन्द्रले मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्वल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेको बताएका छन् ।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डा मुनि गोलबद्ध हुन आह्वान गरेका छन् ।

यस्तो छ ज्ञानेन्द्रको विज्ञप्तिको पूर्ण पाठ
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामूहिक साथ र सेनाको वीरताको परिणामस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।

चारवर्ण छत्तीस जातको साझा फूलबारीको रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्बल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भएता पनि तिनले नेपाल र नेपालीविरुद्ध अक्षम्य अपराध गरेका छन् ।

यसैगरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयाससमेत भइरहेको छ । स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं। तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं ।

दशक नबित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरूले एकताबद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ । नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन् । देशमाथि संकट आइपर्दा कसरी एकताबद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नु परेको छ । विश्व समुदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदैछौं ।

विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दैछौं । यस्तो दुःखद र विडम्वनापूर्ण अवस्थाको अन्त्य हुनै पर्दछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डा मुनि गोलबद्ध हुन आह्वान गर्दछु ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।

 

तपाईको प्रतिक्रिया