Mahendra_Highway_in_Itahari४ माघ, इटहरी। पूर्वी नेपालको द्रुतगतिमा शहरीकरणसँगै प्रमुख ब्यापारिक एवम औद्योगिक शहरमा रुपान्तरित भएको इटहरीलाई यातायातले अझ ब्यवस्थित बनाउने कार्यमा नेपाल सरकारको शहरी विकास विभागले बाहिरी चक्रपथ निर्माणको स्वीकृति प्रदान गरेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रभित्र सडकहरु कालोपत्रे गर्ने अभियानमा स्थानीय उपभोक्ता र उपमहानगरपालिकाबीच साटी चालीसको सहकार्यसँगै जगेड कोषसँगको सहकार्यमा धेरै सडकहरु कालोपत्रे भई सकेका छन । यो अभियानसँगै उपमहानगरपालिका क्षेत्रमा लिङ्क रोड कालोपत्रे गर्ने कार्य पनि लगभग पहिलो चरणको काम पुरा भईसकेको छ ।

इटहरीको बृहत्तर विकास अभियानका क्रममा नेपाल सरकारको शहरी विकास विभागले ६० फुट चौडा भएको कम्तिमा ५५ किलोमिटरदेखि ६० किलोमिटर सडक निर्माण गर्ने विषयमा आज उपमहानगरपालिका क्षेत्रमा बृहत छलफल सम्पन्न गरिएको छ । यही माघ अन्तिमसम्ममा इटहरी बाहिरी चक्रपथको विस्तृत अध्ययन प्रतिवेदन तयारीको कार्य पनि पुरा हुने विषयमा पनि बृहत छलफल भएको छ ।

सडकलाई ब्यवस्थित र मापदण्डयुक्त तुल्याउने उद्देश्यकासाथ निर्माण गर्न स्वीकृति भई सकेकाले सडक क्षेत्रमा सोलार, मेट्रो ट्रेन, फुटपाथ ड्रेन बृक्षारोपण क्षेत्र लगायतका कार्यलाई ब्यवस्थित बनाउने विषयमा बिस्तृत अध्ययनका लागि प्राविधिक टोली पनि परिचालित हुने विषयमा पनि यहाँका सवै राजनीतिक दलबीच छलफल भएको छ । इटहरी उपमहानगरपालिकामा गाभिएका हालका खनार एकम्वा पकली हाँसपोसा र इटहरीलाई लक्षित गरी बृहत बाहिरी चक्रपथलाई ब्यवस्थित तुल्याउने उक्त छलफल साँसद रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईको सभापतित्वमा भएको उक्त छलफल कार्यक्रममा बरिष्ठ इन्जिनीयर अर्जुनकुमार दाहाल जीवन घिमिरे राजन ओझा भवनलाल साह भुवन चौधरी लगायतले आ आफ्नो दृष्टिकोण राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया