rb katuwal copy– आर.बी.कट्वाल (राम)

पवित्र धार्मिक तिर्थस्थलको रुपमा परिचित सुनसरीको रामधुनी मन्दिरको विकास पछिल्लो समय बढ्दै गएको छ । नेपालकको प्रमुख धार्मीक स्थलहरु मध्येको एक ‘रामधुनी मन्दिर’को आफ्नो छुट्टै विशेषता र महत्व रहको छ ।

त्रेतायुगमा भगवान राम वनवास आएको र त्यस बेला त्यँहा रामले बालेको अखण्ड धुनी हाल सम्म पनि बलिरहेको किंवदन्ती रही आएको छ । चारै तिर जंगलको विचमा रहेको यो मन्दिरमा धार्मिक आस्था बोकेर विभिन्न समयमा भक्तजनहरु आउने गर्दछन् ।

यसका साथै सो क्षेत्रलाइ पर्यटकिय क्षेत्र बनाउनका लागि योजना समेत अघि बढाइएको छ विगतको दिनका तुलनामा अहिले मन्दिर जाने तिर्थालु भक्तजनहरुले परिवर्तनको महशुस गर्न सक्छन् ।

किंवदन्ती
रामधुनी सुनसरी जिल्लाको रामधुनी नगरपालिका १० अन्तर्गत पर्ने जङ्गलको मध्यक्षेत्रमा रहेको प्रख्यात धार्मिक स्थल हो । सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट करीब ७ किलोमिटर उत्तर र झुम्का बजारबाट करिब ६ किलोमिटर पुर्वमा रहेको यस स्थानमा चारैतिर घना जङ्गल र सुन्दर फुलबारीका बीचमा धुनीस्थल रहेको छ । त्रेतायुगदेखि जल्न शुरु गरेको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको अचम्मलाग्दो किम्बदन्तीमा आधारित यो स्थान पूर्वाञ्चलकै मात्र नभएर नेपालकै प्रशिद्ध तीर्थस्थल मानिन्छ । राम नवमी, विवाह पञ्चमी र बालाचतुर्दशीमा लाग्ने मेलामा लाखौंको संख्यामा नेपाल, भारत तथा भुटानका मानिसहरू आउने यस पवित्रस्थलमा त्रेतायुगमा रामचन्द्रले बासबस्दा बालेको धुनी निरन्तर आजसम्म जलिरहेको छ । यदी कथंकदाचित निभेमा धरानस्थित पिण्डेश्वरमा रहेको अखण्डदिपबाट प्रज्वलित गर्नुपर्ने र पिण्डेश्वरको अखण्डदिप निभेमा रामधुनीको धुनीबाट आगो लगि सल्काउनु पर्ने परम्परा हालसम्म कायमै रहेको छ ।

ramdhuni rb katuwal

रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेको छ । यसदेखि बाहेक रामचन्द्रले किशोर अवस्थामा राजकुमारी विदिन्युलाई भेट्न आउँदा रामधुनी वनमा ती राजकुमारी धुनीवाली बसेको जनश्रुति पनि रहेको छ । किम्बदन्ती अनुसार त्रेतायुगमा रामचन्द्र वनबास आउने क्रममा धुनी जगाएर एक रात बास बसेको र त्यो स्थान छोडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने पौराणिक भनाइ रहँदै आएको छ । रामधुनीमा वनबासको क्रममा सम्झनास्वरूप भगवान रामले छोडेको सो खराउका साथै उनले प्रयोग गरेको रथका पाङ्ग्रा हालसम्म पनि छँदैछ ।

अवस्था
रामधुनिमा मुख्य रूपमा धुनिमन्दिर र दरवार(लङ्गौट) मन्दिर छन् । धुनिमन्दिरमा सधै एउटा साजको मूढो सल्काएर राखिन्छ र उक्त मूढो सधै जलीरहन्छ । जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ । दरवार मन्दिर भित्र चन्द्र, शिवलिंग, दूर्गा र सिंहका मूर्तिहरू राखिएका छन् । वनखण्डी वावाले बोकेर हिड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ । धुनी वन सुनसरी खोलाको किनारमा छ, जसको क्षेत्रफल करिव एक हजार विगाहा छ । वनखण्डी वावाले यहाँका सखुवाको बोटमा चिम्टा रोपेर आँपका वृक्ष बनाएको र ती आँपहरुमा सखुवाकै गन्ध आउने एउटा किंवदन्तीमा उल्लेख छ ।रामधुनी मन्दिर परिसरमा रहेका अन्य विभिन्न मन्दिर तथा मुर्तीहरुलाइ समयसमयमा रंगरोगन र मर्मत गर्ने काम हुने गरेको छ । यसका साथै मन्दिरको छेउमा नै पोखरी रहेको छ, किंवदन्ती अनुसार सो पोखरीको पानी कहिल्यै नसुक्ने बताइन्छ । यहाँ धुनीको अतिरिक्त सेतो र कालो शालिग्राम ढुगां र शालीग्रामको शिव मूर्ति दर्शनीय छ । विशेषतः यहाँ विवाह पंचमी, वाला चतुर्दशी र रामनवमीका दिन धार्मिक मेला लाग्ने गर्दछ ।
व्यवस्थापन
पवित्र तिर्थस्थल रामधुनीको व्यपस्थापनमा हाल रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समिती सक्रिय रहेको छ ।यो समितीले नै विगत केही बर्षदेखी सम्पुर्ण विकास निर्माण तथा सम्पुर्ण व्यवस्थापनको कार्य गरिरहेको छ । हाल भइरहेको सम्पुर्ण कार्यहरु र गरीरहेको पहलमा यस समितीको महत्वपुर्ण भूमिका रहेको पाइन्छ । विभिन्न समयमा लाग्ने मेलाहरुको आयोजकको रुपमा रहेर यस समिती नै भत्तजनहरुको सेवामा खट्ने गरेको छ । समितीका अध्यक्ष रहेका डिल्ली कार्कीकै नेतृत्वमा रामधुनी मन्दिर क्षेत्रमा विकासका कामहरु हुने गर्दछ । कार्कीकै पहलमा दुइ वर्ष अघि गौशालाको समेत स्थापना भएको थियो ।
विकास निर्माणका कामहरुका साथै विद्युत पुर्याउन, बाटो निर्माण गर्न पनि यही संस्थाको भुमीका महत्वपुर्ण छ । यो समितीले नै भक्तजनहरुलाइ पर्ने समस्याहरु समाधान गर्न लागि परिरहेको छ ।

विकास र योजना
लामो समयसम्म आउने भक्तजनहरुले नपाइरहेको र चाहेको सेवा सुविधा यतिखेर पुरा हुदै गएको छ । सो क्षेत्रमा अझ बढी विकास गर्नका लागि केही समय अघि बृहत गुरुयोजना समेत अघि सारिएको छ । विगतका दिनको तुलनामा बनभोज तथा विभिन्न मेलामा समेत भक्तजनहरुको संख्या दिनानुदिन बढ्ने गरेको रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितीका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिए । हाल मन्दिर परिसर भित्र रामधुनी बाबा बनखण्डेश्वर महादेवको मन्दिर समेत निर्माण भइरहेको छ ।

त्यसका साथै लामो समय पश्चात गौशाला स्थापनाको दुइ बर्ष पुगेको छ । समग्र रुपमा रामधुनी मन्दिरक्षेत्रको सम्पुर्ण भौतिक पुर्वाधारहरुको निर्माण तथा पुननिर्माणका लागि पर्याप्त रुपमा बजेट नभएको कार्की बताउछन् । ‘रामधुनीको विकासका निम्ती पछिल्लो समय हामी निरन्तर रुपमा लागि परिरहेका छौ’ उनी भन्छन्–‘गौशाला निर्माण सुरु गरेको दुइ वर्ष वितीसक्दा पनि अझ पुर्ण हुन सकेको छैन, हामीलाइ सहयोगी दाताहरुको आवश्यक्ता छ ।’

सात वटा गाइ बाट सुरु गरेको सो गौशालामा हाल तीस वटा गाइहरु रहेका छन् । रामधुनीको विकासका लागि अहोरात्र खट्ने कार्की स्वयमले सो गाइको हेरालुलाइ विगत २ बर्षदेखी तलब दिदै आएका छन् । निर्माणधिन अवस्थामा रहेको गौशालालाइ पुरा गर्नका लागि गत १४ गते लागेको चतुर्दशी मेलामा संकलिक मध्येबाट एक लाख छुट्याइएको छ । लामो समयसम्म पनि सो क्षेत्रमा बिद्युत नपुगिरहेको अवस्थामा यती बेला भने मन्दिर क्षेत्र झलमल बत्तीले सजिएका छन् । केही दिन अघि देखी मन्दिर र वरपर बत्तीको उज्यालोले छुट्टै रौनक छाएको छ ।

प्रस्ताविक गुरुयोजनामा रामधुनी मन्दिर परिसरमा बनभोज स्थललाइ व्यवस्थीत गर्नुपर्ने, चारै दिशाको प्रवेशद्धारमा स्वागत सहितको मुल गेट स्थापना गरिनुपर्ने, पुर्वपश्चिम राजमार्गअन्तरगत झुम्का बजार देखि मन्दिर क्षेत्र सम्मको बाटो पिच गर्न पहल गर्नुपर्ने लगायतका योजनाहरु समावेश गरिएका छन । त्यसै गरीत्यसका साथै सो समितीले नै रामधुनी मन्दिर क्षेत्रको विकासका लागि विभिन्न कार्ययोजना बढाउदै आएको छ । केही दिन अघि बिद्युत पुगे पछि त्यस क्षेत्रसम्म पुग्नका लागि झुम्का बजार देखि बाटो मर्मतका भइरहेको छ । रामधुनी मन्दिरको धार्मिक इतिहासलाइ समेटेर पुस्तक प्रकाशनको निम्ती लेखन कार्य समेत भइरहेको छ । जसमा इतिहास देखी अहिलेसम्मका हरेक पक्षलाइ समेटिने बताइएको छ ।

सम्भावना
यस पवित्र तिर्थस्थल रामधुनी मन्दिरमा प्रशस्तै सम्भावनाहरु रहेका छन् । हाल पर्यटकीय क्षेत्रको रुपमा पनि रामधुनी मन्दिरलाइ लिइने गरेको छ तर पर्यटकहरु भन्दा पनि श्रद्धालु भक्तजनहरु मन्दिरको दर्शनका निम्ती आउने गरेका छन् । मन्दिरको क्षेउमा रहेको कुण्ड(पोखरी) आफैमा हेर्दा आकर्षक छ । यस कुण्डलाइ अझ आकर्षक बनाउने हो भने पर्याटकीय स्थलको रुपमा पनि प्रचारप्रसार गर्न सकिन्छ । हुन त अहिले पनि पर्यटकहरु नआउने हैनन्, तर जुन किसिमले पर्याटकलाइ आकर्षित गराउनुपर्ने हो त्यसमा भन कमी भइरहेको छ । मन्दिरको दर्शन गर्ने भक्तजनहरुलाइ आकर्षित गराउन विभिन्न मन्दिरहरु निर्माण गरे जस्तै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रयाउन व्यवस्थीत पार्क, बगैैँचा, मुर्ती, बाल उद्यान आदी निर्माण गर्नुपर्दछ ।

व्यवस्थीत तरिकाले बनभोज स्थलको निर्माण गर्ने हो भने रामधुनी मन्दिर परिसर पुर्वाञ्चलकै उत्कृष्ट मध्येको एक बनबोज स्थल बन्न सक्छ । त्यती मात्र हैन अझ बालबालिका लगायतका अन्य आन्तरिक पर्यटकहरुलाइ आकर्षित गराउनका लागि चिडियाखानाको निर्माण समेत गर्न सकिनेछ । हुन त प्रस्तावित गुरुयोजनामा जनसमुदायले चाहाना गरेअनुरुप भ्यूटावर, मोवायल फोन टावर, धार्मिक र पुरानो स्वरूपको प्रवेशद्वार, सुरक्षापर्खाल र विशाल धनुष स्तम्भ निर्माण, संग्रहालय, मन्दिर, पूजासामग्री वितरण कक्ष, आर्यघाट, काशीवास भवन, रामलीला नृत्य प्रदर्शनी डबली, सामुदायिक भवन, धर्मशाला, बृद्धाश्रम र आयुर्वेद अध्ययन केन्द्र आदी निर्माण गर्नसमेत सकिन्छ ।

समस्याहरु
विगतको केही वर्ष यता हेर्ने हो भने रामधुनी मन्दिर परिसरमा धेरै समस्याहरु हल भएका छन । केही समस्या हल हुने क्रममा छन् । घना जंगलको बिचमा रहेको रामधुनी मन्दिरमा अझैपनि विभिन्न समस्याहरु रहेका छन् । यतीका समयसम्म पनि विद्युत पुग्न नसक्दा भक्तजनहरुलाइ समस्या पर्ने गरेको गरेको थियो तर केही दिन अघि विद्युत पुगेकाले सो समस्या भने हल भएको छ । पुर्व प्रकाशपुर, पश्चिम रामधुनी झुम्का, उत्तर महेन्द्रनगर र दक्षिण डुम्रहा चारै दिशाबाट मन्दिर सम्म जानको लागि बाटो भने कुनै राम्रो छैन । अझ श्रावण÷भाद्रको समयमा पानिले गर्दा चारै तिरको बाटो हिलाम्मे हुने गर्दछ । तर अहिले भने बाटो ग्राभेल भइरहेको छ भने चाँडै नै पक्की बाटो बन्ने भएको छ ।
विभिन्न समयमा लाग्ने मेलामा राती आउने तिर्थालु भक्तजनहरु त्था मेला भर्ने अन्य सर्वसाधारणहरुको लागि अहिले पनि व्यवस्थीत शौचालय र पर्याप्त शुद्ध खानेपानी नभएको अवस्था छ । यदी पिच बाटो, खाने पानी र शौचालयको व्यवस्था गरिने हो भने हरेक समयमा भक्तजनहरुको समस्या सुन्नु पर्दैनथियो । प्रविधिको विकास तिब्ररुपमा भएतापनी मन्दिर आसपास क्षेत्रमा भने मोबाइल नेटवर्क अहिले सम्म जडान गरिएको छैन । बनखण्डी मन्दिर व्यवस्थापन समितीको अनुसार मोबाइल टावर जडानको लागि पहल भइरहेको छ ।

निश्कर्ष
त्यसै गरी रामधुनी मन्दिरलाइ राष्ट्रिय तथा अन्तराष्टिय स्तर सम्म चिनाउनका लागि प्रचारप्रसारमा भने विशेष जोड दिनु पर्दछ । विभिन्न समस्या र चुनौतीहरुलाइ चिर्दै विकास निर्माणमा लागि परेर अन्तराष्ट्रिय स्तर सम्म मन्दिरको आफ्नो छुट्टै विशेषता र महत्वलाइ बुझाउनका निम्ती सबैले आ–आप्mनो ठाउबाट लागि पर्नुपर्दछ । बनभोज तथा मेला भर्न आउने सबै सर्वसाधरण तथा भक्तजनहरुलाइ सुरक्षाको प्रत्याभूती दिलाउनका निम्ती सो मन्दिर क्षेत्रमा प्रहरी÷सुरक्षाकर्मीको आवश्यक देखिन्छ । यदी यस्तो व्यवस्था भएमा अहिलेको भन्दा बढी संख्यामा भक्तजनहरु आउने निश्चित छ । समग्रमा धार्मीक तथा पर्यटकीय स्थलको रुपमा परिचित पवित्र तिर्थस्थल रामधुनी मन्दिरमा अझ विकास गर्नका निम्ती समितीका साथै स्थानीय निकाय, सरोकारवाला तथा नेपाल सरकारले नै विशेष ध्यान दिदै विकासका निम्ती पहल गर्नु पर्ने देखिन्छ ।

 

तपाईको प्रतिक्रिया