Kp-oli-And-Kamal-thapa

२९ कात्तिक, काठमाडौं । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासँगको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारी वार्ता टोलीका संयोजक कमल थापा नै अनुपस्थित हुने भएका छन् ।सत्तारुढ दल, कांग्रेस र मधेसी मोर्चाबीच दिउँसो ३ बजे सिंहदरवारस्थित राज्य व्यवस्था समितिको हलमा वार्ता हुँदैछ ।वार्ताअघि बसेको रानजनीतिक समितिको बैठकमा वार्ताका लागि तीन नेताको नाम तय गरेको छ । जसमा राजनीतिक समितिका संयोजक प्रचण्ड, सरकारी वार्ता टोली संयोजक एवं उपप्रधानमन्त्री कमल थापा र एमाले वरिष्ठ नेता झलनाथ खनालको नाम छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने-‘वार्तामा प्रधानमन्त्री जानुहुन्न, एमालेको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल जानुहुनेछ ।’वार्तामा राप्रपा नेपालका अध्यक्ष एवं सरकारी वार्ता टोली संयोजक थापा पनि वार्तामा सहभागी नहुने भएका छन् । पूर्वनिर्धारित कार्यक्रम भन्दै थापा गृह जिल्ला मकवानपुरको हेटौंडा पुगेका छन् ।उपप्रधानमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका थापा सोमबार मात्र र्फकने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।मधेसी मोर्चासँगको वार्तामा प्रमुख विपक्षी दलका कार्यवाहक सभापति रामचन्द्र पौडेल सहभागी हुने छन् । प्रचण्डसँगको छलफलमा कांग्रेस नेताहरुले वार्तामा सहभागी हुने बताएका छन् ।सरकारलाई समर्थन गर्ने दलहरुको राजनीतिक समितिको बैठकले मधेसी मोर्चाले राखेका मागहरुमा राजनीतिक स्तरमा छलफल गरेर संवैधानिक प्रक्रियाबाट सम्बोधन गर्ने सहमति भएको नेकपा संयुक्तका अध्यक्ष गणेश साहले बताए ।

 

तपाईको प्रतिक्रिया