Death code eartquick bhukamp

काठमाडौं । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा परी मृत्यु भएका ३२ जनाको सनाखत हुन अझै बाँकी छ । ३२ शव त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा गाडिएको छ । सबै शव व्यवस्थित रूपमा गाडिएको फरेन्सिक मेडिसिन विभागका प्राध्यापक डा। हरिहर वस्तीले बताए । कुनै पनि समयमा आफन्तहरू शव खोज्न आए दिन मिल्ने गरी गाडिएको उनको भनाइ छ ।

‘भूकम्प आएपछि महिनौँसम्म विभागभित्र छिरिसक्नु थिएन । जताततै शव थिए । विभागवरिपरि दुर्गन्धित थियो,’ डा। वस्तीले भने, ‘सनाखत हुन नसकेका शव व्यवस्थापन गर्न कठिनाइ भएका कारण भुकम्प गएको लगभग ११ महिनापछि अर्थात चैत ५ गते व्यवस्थित रूपले गाडिएको हो ।’

विभाग अगाडिको खाली आठ आना जग्गाको एक छेउमा अंग्रेजी अक्षरको एल आकारमा ३२ शव गाडिएको डा। वस्तीले जानकारी दिए । उनले भने, ‘आठ आना जग्गाको उत्तर पट्टीको छेउमा हालसम्म शवहरू नगाडेको स्थान थियो । दश जना मजदुरलाई तीन दिन सम्म खाडल खन्न लगाएर शव गाडिएको छ । शव गाड्दा एकले अर्को शव छोइएको छैन ।’भुकम्पपछि फरेन्सीक विभागलाई सहयोग गर्न जेनेभाबाट रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसिआरसी)को विशेषज्ञ टोलि आएको थियो ।

‘टोलीले विभागमा अव्यवस्थित रूपमा शव राखिनु अमानविय भएको भन्दै चिसो कोठाहरूको खोजि गर्यो, फलफुल बोक्ने चिसा ट्रकसमेत खोजियो तर नभएपछि विभागमा बिग्रीएर रहेको लास राख्ने फ्रिजर तत्काल बनाएर केहि शव राखेका थियौं,’ वस्तीले भने, ‘राख्ने ठाउँ अभावका कारण शनाखत भएका र नभएका शव सामुहीक दाहासस्कार गर्न बाहिर लैजान खोजेको थियो । रेडक्रसको अन्तराष्ट्रिय समितिले सनाखत नभएका शव दाहसस्कार गरे मुद्धा लाग्ने बताएपछि व्यवस्थित रुपमा गाडेका हौं ।’ सरकारले ३२ शव व्यवस्थापन गर्न २ लाख रूपैयाँ दिएको थियो ।

अंग्रेजी अक्षरको एल आकार बनाएर प्रत्येक खाडल पाँच फिट गहिरो खनिएको छ । गाड्दा एक शवले अर्को शवलाई छोएको छैन । १६ शव ठाडो लाइनमा र १६ शव तेर्सो लाइनमा राखेर गाडिएको छ । हरेक शवसँगै फलामको नम्बर प्लेट राखिएको छ । सहजै पहिचान गर्न जमिनमाथि पनि नम्बर प्लेट राखिएको छ । सनाखत नभएर गाडिएका शवको नमुना राखिएको फरेन्सिक विभागका प्रा. डा. हरिहर वस्तीले बताए । लगत विभागमा सुरक्षित रहने र त्यसकै आधारमा सहजै कुन शव कसको हो भनेर चिन्न सकिने उनको भनाइ छ ।

‘३२ शवको छुट्टाछुट्टै डिएनए र औँठाछाप ल्याबबाट बनाएर सुरक्षित राखेका छौँ । साथै कोड नम्बर राखेर व्यवस्थित रूपमा गाडेका छौँ,’ वस्तीले भने, ‘कपडा, वर्ण, उचाइ, लिंग, कुनै औँलाको छापसहितका रेकर्डलाई प्रमाण मानिनेछ । दाँत बनाएको रेकर्ड, आफन्तको रगत वा रौँको डिएनए रेकर्ड ल्याएमा पनि शव पहिचान गर्न सजिलो हुन्छ ।’ आफन्तले ल्याएको प्रमाण मिलेमा नम्बरका आधारमा शव निकालेर दिइने उनको भनाइ छ ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया