विराटनगर । सीके राउतले ‘मधेस छुट्टै स्वायत्त प्रदेश राज्य हुनुपर्छ’ भन्ने मागलाई चर्काउँदै लगेपछि उनीमाथि राज्य विप्लवको मुद्दा लगाउनु पर्ने आवाज चर्को रुपमा उठ्न थालेको छ । पछिल्लो समय राउतले उग्ररुप लिएपछि सरकारले पक्राउ गरेर उनको बिखन्डनकारी कदमलाई रोक्ने प्रयास गरिरहेको छ । तर, यिनै सीके राउतका कार्यकर्ता भने मधेसमा धमाधम सरकारी बजेटमै लाभान्वित भइरहेको खबर छ ।

प्रसंग, सूचना तथा सञ्चार मन्त्रालयले मधेसी पत्रकार संघलाई दिएको रु. २० लाख सहयोग र त्यही सहयोगमा संघले मधेसका विभिन्न जिल्लामा सञ्चालन गरेको ‘न्यू मिडडिया एण्ड रुलर जर्नालिज्म’ विषयक तालिमको हो । संघले नवप्रवेशी पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि भन्दै यस्तो तालिमको आयोजना गरेको भएपनि यसको व्यापक दुरुपयोग भएको थाहा भएको छ ।

नवप्रवेशी पत्रकारहरूका लागि लक्ष्य गर्दै तालिम आयोजना गरिएको भए पनि अधिकांश तालिम सीके राउतका कार्यकर्ताले लिएका छन् । स्रोतका अनुसार, मधेसी पत्रकार संघका सचिव बीपी साहले योजनाबद्ध रुपमा सीके राउतका कार्यकर्तालाई अवसर दिएर सरकारले दिएको बजेट दुरुपयोग गर्दै तालिम दिइएको छ । साह सीके राउतनिकट पत्रकारका रुपमा मधेस वृत्तमा चिनिन्छन् । उनी तालिमका मुख्य ट्रेनर थिए ।

‘मधेसी पत्रकार संघले विभिन्न जिल्ला सञ्चालन गरेको तालिममा सीके राउतका कार्यकर्तालाई तालिम दिइएको छ’। विराटनगरमा रहेर काम गर्ने एक मधेसी पत्रकारले साँघु सम्वाददातालाई भने, ‘सीके राउतनिकटका मानिने बीपी साहले योजनाबद्ध रुपमा सरकारको बजेट दुरुपयोग गरे पनि कसैले यसतर्फ चासो दिएका छैनन् ।’

स्रोतका अनुसार, सीके राउतले योजनाबद्ध रुपमै कार्यकर्तालाई तालिममा पठाएको बताइन्छ । नयाँ पत्रकार भेट्नै मुश्किल पर्ने मधेसमा तालिमका लागि भन्दै हुलका हुल मान्छेहरू आएको विराटनगरका एक मधेसी पत्रकारले साँघु सम्वाददातासँग भने । ‘नयाँ पत्रकार नै नभेटिने मधेसमा सञ्चालन गरिएको तालिममा हुलका हुल मान्छेहरू आउँदा हामीलाई अनौठो लागेको थियो’, ती पत्रकारले भने ।अाजकाे साँधु साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया