divorce

महिलाले चाहेमा सजिलै सम्बन्धविच्छेद गर्न सकिने तर पुरुषले चाहेको खण्डमा सम्बन्ध विच्छेद गर्न नपाइने कानुनी गाँठो केही रुपमा खुकुलो पारिएको छ । व्यवस्थापिका संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन गर्न विधेयकमध्ये देवानी संहिता पारित भएसँगै चाहेको खण्डमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न सक्ने बाटो खुलेको हो ।

पारित संहिताले सम्बन्धविच्छेद सम्विन्ध प्रचलनमा आएको व्यवस्थालाई परिमार्जन गरि महिला र पुरुष दुवैका लागि समान व्यवस्था गर्दै पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद प्रक्रिया सुरु गर्नपाउने व्यवस्था गरेको छ । यो ऐन पारित भएसँगै पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गर्न पाउने भएका छन । त्यस्तै विवाह भएको १० वर्षसम्म पनि दम्पतिबाट छोरा वा छोरी नभएक र पैतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्धविच्छेद गरी बसेका छोरा वा छोरी नहुने महिलाले धर्मपुत्र राख्न पाउने नयाँ व्यवस्था संहिताले गरेको छ ।

त्यस्तै गरि संहिताले हालको सात पुस्तासम्म रहेको अपुताली दाबीसम्बन्धी व्यवस्था तीन पुस्तामा झारी छोरा–छोरी दुवैको तीन पुस्तासम्म मात्र अब अपुताली हकदाबी कायम रहनेछ । तीन पुस्तासम्म पनि हक पुग्ने व्यक्ति नभए सम्पत्ति राज्यको हुने व्यवस्था गरेको छ । अपुताली ठूलोबाट सानो व्यक्तिमा सर्ने भए पनि विधेयकले सानो व्यक्तिको अपुताली ठूलो व्यक्तिमा सर्ने व्यवस्था गर्दै छोराछोरीको कुनै पनि सम्पत्तिको हक बाबु आमामा पनि जाने गरि व्यवस्था गरेको छ ।

मुलुकी देवानी संहिता २०७३ नाम रहने गरी समितिले उक्त विधेयक पास गरेको हो । मुलुकी देवानी संहिताले पारिवारिक कानूनमा सम्पत्ति, विवाह, सम्बन्धविच्छेद जस्ता विषयमा नयाँ परिमार्जन सहितको कानूनी व्यवस्था गरेको हो ।

तपाईको प्रतिक्रिया