army-sena

काठमाडौं / प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन् । उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए ।‘पछिल्ला दिनमा परम्परागतभन्दा फरक सुरक्षा चुनौती थपिँदै गएको छ, यसले सामाजिक सद्भावमा समेत चुनौती थपेको छ,’।

सेनाको कमान्ड एन्ड स्टाफ कलेजद्वारा शुक्रबार शिवपुरीमा आयोजित ‘रक्षा तथा कूटनीतिबाट राष्ट्रिय सुरक्षा सुदृढीकरण’ विषयक सेमिनारमा प्रधानसेनापति क्षत्रीले भने, ‘सरकारअन्तर्गतका निकायबीच एकीकृत अवधारणाका आधारमा विद्यमान सुरक्षा चुनौती सामना गर्नुपर्छ र उचित कूटनीतिक प्रयास पनि बढाउनुपर्छ ।

नेपालसहित विकासशील मुलुकका लागि कूटनीति र रक्षा नीति एक–अर्काका परिपूरक भएको प्रधानसेनापति क्षत्रीको भनाइ छ । ‘विकासशील देशहरूका लागि सामान्य सुरक्षा व्यवस्थापन नै पछिल्लो समयमा चुनौती हुन थालेको छ,’ उनले भने, ‘सरोकारवाला निकायको समन्वयमा एकीकृत हिसाबले मात्रै चुनौतीको सामना गर्न सकिन्छ ।’

सेमिनारमा ६ महिनाअघि अवकाश पाएका उपरथी एवं युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयका पूर्वप्रमुख हिमालय थापाले भारतीय नाकाबन्दी हटाउन सेनाले उल्लेख भूमिका निर्वाह गरेको बताए । प्रधानसेनापति क्षत्रीको दूतका रूपमा उनी र अर्का सैनिक अधिकृत अनुपजंग थापाले दिल्ली गएर भारतीय सेनाप्रमुख दलवीर सिंहसँग वार्ता गरेको पनि उनले बताए ।

‘अनुपजंग थापा र मैले प्रधानसेनापतिका दूतका रूपमा दिल्ली गएर आर्मी चिफ दलवीर सिंहलाई नेपालको परिस्थितिको जानकारी गराएका थियौँ, त्यसपछि भारतबाट नाकाबन्दी खुलेको हो,’ पूर्वउपरथी थापाले भने, ‘नेपालले सैन्य कूटनीतिमार्फत वेलावेलामा उपलब्धि हासिल गरेको छ ।’

पूर्वरथी पवनबहादुर पाँडेले भारतीय सैन्य प्रमुख सिंह गोर्खा राइफल्सका कमान्डेन्ड रहेका कारण नेपाली सेनाले उनीसँग नाकाबन्दीबारे कुराकानी गर्न सफल भएको बताए । ‘यदि सेनाप्रमुख मराठा रेजिमेन्ट वा अन्तको पृष्ठभूमिका थिए भने सेनाले कुराकानी गर्न सक्ने र उसले अग्रसरता देखाउन सक्ने अवस्था थिएन,’ पाँडेले भने ।

आफ्ना पिता सरदार भीमबहादुर पाँडे भारतीय राजदूत हुँदा भारतका तत्कालीन सैनिक फिल्ड मार्सल मानिक सासँग भेट भएको प्रसंग पनि उनले सुनाए । ‘त्यतिवेला मेरो बुबालाई मानिक साले भनेका थिए कि चीनसँग जोडिएका चारवटा चेकपोस्ट हटाउन तयार छौँ, कालापानीको हटाउन सकिँदैन,’ पाण्डेले भने । उनले शान्तिस्थापक मिसन नेपालको कूटनीतिक सफलताको उदाहरण भएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

शिवपुरीस्थित स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी देवेन्द्रबहादुर मेधासीले सरोकारवाला पक्षहरूबीचको साझा दृष्टिकोणबाट राष्ट्रिय सुरक्षा बलियो हुनसक्ने भएकाले सेमिनार आयोजना गरेको बताए । उनले स्टाफ कलेजमा विदेशी सैनिक शिक्षार्थीको सहभागिता बढिरहेको र यसले नेपालको कूटनीतिलाई प्रवद्र्धन गरेको पनि उल्लेख गरे ।

सेमिनारमा पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्य, डा. मदनकुमार भट्टराई, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, डा. दिनेश भट्टराई, पूर्वरथी भिक्ट्रीशमशेर राणालगायतले सुरक्षा र कूटनीतिको तालमेल मिलाएर राष्ट्रिय सुरक्षा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

सेना मात्रै अपर्याप्त : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सेनाले मात्रै राष्ट्रिय सुरक्षा प्रवद्र्धन गर्न नसक्ने बताएका छन् । उनले कूटनीति र राष्ट्रिय सुरक्षामा दलीय राजनीति गर्न नहुनेसमेत बताए ।

‘बदलिँदो परिवेशमा उत्पन्न सरक्षा चुनौतीलाई सैन्यशक्तिले मात्रै सामना गर्न सम्भव छैन, कूटनीतिलाई सुरक्षा प्रवद्र्धन र राष्ट्रिय सुरक्षा परिपूरणको महत्वपूर्ण आधार मानेर अघि बढ्नुपर्छ,’ महतले भने, ‘राष्ट्रिय सुरक्षाका धेरै पक्ष छन्, आर्थिक विकासको पहुँच सबैमा पु-याउने र सबै पक्षहरूको एकताले मात्रै देश बलियो हुन्छ ।’

कूटनीतिलाई बुद्धिमत्तापूर्वक प्रयोग गरेमा सुरक्षा चुनौती सामना गर्न सकिने पनि मन्त्री महतले बताए । ‘नेपालमा छिमेकीसँगको सम्बन्ध सत्ता र पार्टीगत राजनीतिक परिपूरण गर्ने हतियारका रूपमा हामीले प्रयोग गरिरहेका छौँ । सडकमा प्रयोग भइरहेका यस्ता कुराले राष्ट्रियतालाई बलियो बनाएको छैन,’ महतले भने, ‘कूटनीतिलाई बुद्धिमत्तापूर्वक प्रयोग गर्न सकियो भने मात्रै सुरक्षाको सुदृढीकरण र कूटनीतिलाई परिपक्व बनाउन सक्दछाँै, कूटनीतिक माध्यमबाटै राष्ट्रिय आवश्यकता र सुरक्षा सुरक्षित हुन सक्दछ ।’अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया