दाङ । युवती प्रयोग गरेर विभिन्न व्यक्तिसँग रकम असुल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले युवती प्रयोग गरेर पुरुषलाई बोलाउने र पछि बन्धक बनाई पैसा असुलेको अभियोगमा दाङको फूलबारी–९ का अनिल नेपाली, रीता गुरुङ, लक्ष्मीपुर–६ का राजकुमार नेपाली र विश्व नेपालीलाई बाँकेको कोहलपुरबाट नियन्त्रणमा लिएको हो । इप्रका कोहोलपुरले २४ माघमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुरेसप्रसाद काफ्लेका अनुसार रीताले फोन गरेर दाङको सैघा–५ खानीगाउँका घरजग्गा व्यवसायी केशरबहादुर रोकायालाई नेपालगन्जको सनराइज होटेलमा बोलाएकी थिइन् ।
प्रहरीका अनुसार कोहलपुरको एक होटेलमा २० लाखबाट सुरु भएको बार्गेनिङ २ लाख ५० हजारमा टुंगिएको थियो । रोकायाले उनीहरूलाई १ लाख रुपैयाँ त्यहीँ दिएका र बाँकी १ लाख ५० हजार दाङ आएर दिने सहमति भएको थियो । होटलमा शंकास्पद व्यक्ति देखेर नियन्त्रणमा लिँदा घटनाको रहस्य बाहिर आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि रोकायालाई घर पठाएको छ ।
कोहलपुर प्रहरीका अनुसार सो समूह युवती प्रयोग गरेर विभिन्न व्यक्तिसँग रकम असुल्ने संगठित गिरोह हो । डीएसपी काफ्लेका अनुसार यस गिरोहका प्रमुख योजनाकार दाङकै दिलकुमार पुन हुन् । उनी हाल फरार छन् । सहासी भनेर चिनिने पुन माओवादी पूर्वलडाकुका कमान्डर भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई अपहरण तथा शरीर बन्धक ऐनअनुसार कारबाहीका लागि मुद्दा चलाइएको डीएसपी काफ्लेले जानकारी दिएका छन् । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।